Logo
Logo

बौद्धमा भेटियो बोराभित्र शव


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँ वस्तीमा बोराभित्र मानिसको शवको केहि भाग फेला परेको छ । प्रहरीले मंगलबार बिहान उक्त बोराभित्र शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको जनाएको छ ।

शवको केही भाग मात्रै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छ्न ।

‘शवको एकभाग मात्रै फेला परेको छ। कतै हत्या वा जलाएर शवको एक भाग यहाँ फालेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘घुँडा र खुट्टाको भाग मात्रै छ, थप अनुसन्धान गर्छौं।’

शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन । शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घटनास्थलमा चिकित्सक टोली पनि गएको थियो । चिकित्सकहरू उक्त शव तीन साता पहिलेको हुनसक्ने अनुमान लगाएका छन् ।

शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएका छन् । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।

घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।

घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले शवका अवशेष फेला पारेका थियो । प्रहरीले पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ । प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्