Logo
Logo

ज्यानै दिन्छु भन्ने आएका छैनन् : अञ्जु चौंलागाइँ, मोडल


दृष्टि संवाददाता


सफलता र खुसीका आ–आफ्नै धारणा र परिभाषा हुन्छन् । तर, आफैँमा खुसी रहन सक्नुचाहिँ सबैभन्दा ठूलो कुरा हो । मोडल अञ्जु चौँलागाइँले यही जीवन मन्त्रलाई आत्मसाथ गर्दै आएकी छन् । चार वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय हेटौंडाकी अञ्जु भन्छिन्, ‘म सिम्पल लिभिङमा विश्वास गर्छु, त्यसैले मलाई सानो कुराले खुसी बनाउँछ ।’ थुप्रै म्युजिक भिडियो तथा विज्ञापनहरुमा मोडलिङ तथा अभिनय गरिसकेकी अञ्जुको कलाकारिताको प्रेरणा उनकी आफ्नै आमा हुन् । अञ्जुलाई मोडलिङभन्दा अभिनयमा बढी रुचि छ । तैपनि उनको ठूलो सपना र उद्देश्य छैन । आफूलाई ‘लभिङ गर्ल’ भन्न रुचाउँने अञ्जु भन्छिन्, ‘मलाई स्टार हुनु छैन । जिन्दगीभर यसै क्षेत्रमा टिकिरहुँ, बाँचिरहुँ, वस यति नै हो मेरो सपना र उद्देश्य ।’ मोडल अञ्जुसँग एमपी सुब्बाको जम्काभेट :

मोडलिङ गर्न थाल्नुभएको कति भयो ?

मोडलिङमै क्रियाशील भएर लागेको चार वर्ष भयो । त्यसअघि डान्स गर्थे । सानैदेखि डान्स र अभिनय गर्न रुचाउँथे । तर, यसरी मोडलिङ क्षेत्रमै लाग्छु भन्ने सोचेकी थिइन ।

सानैमा कसरी अभिनय र मोडलिङमा रुचि जाग्यो ?

खाशमा मेरी आमाको कारणले हो । उहाँ सधैं गीत बजाएर नाच्नुहुन्थ्यो । मलाई पनि नचाउनु हुन्थ्यो । त्यसपछि म पनि ऐना हेरेर अभिनय गर्थेँ ।

त्यो बेला ऐना हेरेर नाच्दा कस्तो लाग्थ्यो ?

राम्रो वा नराम्रो भन्ने थाहा हुन्नथियो । तर, त्यसरी नाच्न पाउँदा खुसी लाग्थ्यो । विस्तारै स्कुलका कार्यक्रमहरुमा पनि नाच्न थाले । अहिले पनि नाच्न पाउँदा खुसी लाग्छ ।

मोडलिङ क्षेत्रमा लाग्ने अवसरचाहिँ कसरी मिल्यो ?

कक्षा ११ मा पढ्दैगर्दा मेरो एकजना साथी थियो । नामचाहिँ बिर्सेँ । उहाँको दिदी मोडल थियो । उहाँहरुको ‘आइएम मोडल’ भन्ने एउटा फेसबुक पेज थियो । मेरो पनि मोडलिङमा रुचि थियो । त्यसैले फोटोसुट गरेर त्यो पेजमा राखेपछि अडिसनमा सेलेक्ट भएँ । त्यसपछि मोडलिङमा करिअर सुरु गरेकी हुँ ।

तपाइँ म्युजिक भिडियोमा बढी मोडलिङ गर्नुहुन्छ होइन त ?

बढीचाहिँ म्युजिक भिडियोमै गर्दै आएकी छु । साथै, एड र वेभ सिरिजहरुमा पनि अभिनय गरेकी छु ।

पहिलो पटक मोडलिङ गर्नुभएको भिडियो कुन हो ?

पहिलो पटक भिडियो गरेको बिर्सिसकेँ । तर, त्यसपछि रमेश भट्टराईको गीत ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गयौँ’ मा पुष्प खड्कासँग मोडलिङ गरेँ । यो भिडियो चर्चामा पनि आयो ।

फिल्मका लागि प्रस्ताव आएको छ कि छैन ?

तीन वटा फिल्मका लागि प्रस्ताव आएको थियो । तर, त्यतिखेर म तयारी थिइनँ । त्यसैले गरिनँ । अहिलेचाहिँ सेल्फ तयारी गर्दै आएकी छु । आफूलाई परफ्याक्ट बनाएरमात्र फिल्ममा आउने मन छ, जबकि सबैले माया गरुन्, कसैले गाली नगरुन् ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?

हामीले जस्तो सोच्यो, त्यही हुने हो । मैले मोडलिङ क्षेत्रमा ‘इन्जोय’ गरिरहेकी छु । सिक्दैछु, तैपनि रमाइलो लागिरहेको छ ।

कस्तो फिल्ममा प्रस्ताव आए काम गर्नुहुन्छ ?

म रियल लाइफमा जेछु, त्यसको ठीक अपोजिट भूमिका गर्न मनपर्छ । लभ स्टोरी फिल्मसँगै नेगेटिभ भूमिका पनि गर्छु । फिल्मको कथा ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने छैन ।

रियल लाइफमा कस्तो हुनुहुन्छ ?

म सिम्पल लिभिङमै रमाउने मान्छे । त्यसैले सानो कुरामा पनि खुसी हुन्छु । खुसी हुनका लागि ठूलै उपलब्धी चाहिँदैन । म लभिङ टाइपकी छु । मलाई सधैँ हाँसीरहनु, बोलिरहुनुपर्छ । त्यसैमा खुसी हुन्छु ।

त्यसो भए जीवनमा उपलब्धीको ठूलो अपेक्षा छैन ?

अपेक्षा छैन भन्ने होइन । फिल्म क्षेत्रमा केही गर्छु भनेर संघर्ष गरिरहेकी छु । यो पक्कै केही पाउने अपेक्षाकै लागि हो । सपना ठूलो देख्नुपर्छ । पूरा हुने नहुने बेग्लै कुरा । तर, आफू खुसी भएर अरुलाई पनि खुसी दिन सक्नुपर्छ ।

‘लभिङ गर्ल’ तपाइँको मायाजालमा कति परे वा पर्दैछन् ?

मायाजालमा अहिलेसम्म कसैलाई पारेकी छैन । र, म पनि परेकी छैन । टिनएज हुँदा मन पराउने र माया गर्छु भन्ने थिए । त्यो बेग्लै कुरा । अहिले पनि मन पर्छ, प्रेम गरौँ भन्नेहरु त छन् । तर, ज्यानै दिन्छु भन्ने कोही आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्