Logo
Logo

खोला उत्खनन रोक्दा वन र उपमहानगरपालिकका प्रहरीबीच झडप


दृष्टि संवाददाता


धरान । वन क्षेत्रको खोलाबाट धरान उपमहानगरपालिकाले अनधिकृतरुपमा ठेक्का लगाई ढुंगामाटोको उत्खनन गरी बिक्री गर्न गर्न थालेपछि जिल्ला वन कार्यालय सुनसरी निरीह बन्न पुगेको छ ।

धरान वरिपरिका सर्दु, सेउती, सेहेरा खोलाभित्र धरान उपमहानगरपालिकाले ढुंगा, गिट्टी बालुवा निकाल्न ठेकका लगाएपछि ठेकेदारले खोला उत्खनन गर्न थालेका छन् । तर सो क्षेत्र वन क्षेत्रमा पर्ने भएकाले वन विभागको स्वीकृति लिएर वातावरण प्रभाव मूल्यांकन गर्न वैशाख ९ गते जिल्ला वनले धरान उपमहानगरपालिकालाई पत्र काटे पनि अटेर गरी खोला उत्खनन गरिरहेको छ । आफ्नो वन क्षेत्रमा जबर्जस्ती उत्खनन हुन थालेपछि वन कार्यालयका सशस्त्र वन प्रहरीले रोक्न खोज्दा उपमहानगरपालिकाले उल्टै प्रहरी र नगर प्रहरी खटाएर वन प्रहरीलाई लखेटेका छन् ।

पाथीभरा निर्माण सेवा इटहरीले ठेक्का सम्झौता गरेर पानवारी सामुदायिक वनभित्र पर्ने सेउतीखोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न थालेपछि डिभिजन वन कार्यालय सुनसरीले हतियारधारी कर्मचारीले रोक्न खोजेका थिए । तर धरान उपमहानगरपालिकाका मेयर तिलक राई आफैँ प्रहरी र नगर प्रहरी लिएर खोलामा पुगेर आफनो कर्मचारीलाई लखेटेर उत्खनन कार्य जारी राखेको कुरा सुनसरी जिल्ला वनका डिएफओ दानबहादुर श्रेष्ठले बताए । यो वन क्षेत्र हो आइई गरेर वनको स्वीकृतिबेगर उत्खनन गर्न पाइँदैन भन्दा नगरप्रमुख राईले यो आफ्नो क्षेत्रभित्र पर्ने भएकाले नगर प्रहरीहरुलाई लाठीचार्ज गरेर भए पनि उत्खनन कार्य जारी राख्न निर्देशन दिएका छन् भनी वन अधिकृत बताउँछन । वन कार्यलयका कर्मचारीभन्दा दोब्बर प्रहरी र नगर प्रहरी परिचालन गरी जबर्जस्ती खोला उत्खनन भइरहेको कुरा सामुदायिक वनका सहसचिव दिशान श्रेष्ठ बताउँछन् ।

‘मेयरको यो कस्तो गुण्डागर्दी हो ? वनको नियम कानुनलाई पनि तोडेर उत्खनन भइरहेको छ । यस्तै पारा हो भने त यहाँ वन कार्यालय नबसे पनि भयो’ भन्छन् सहसचिव श्रेष्ठ । उत्खनन भएको क्षेत्रमा गत वर्ष पनि खोलाले व्यापकरुपमा वन क्षेत्र र सुकुम्वासी जनता बसेको क्षेत्रमा कटान गर्न थालेपछि ठेक्काबाट उठेको पैसाबाट तटबन्ध गर्नुपर्ने हाम्रो माग थियो । तर, त्यो पनि सुनुवाइ नभएको श्रेष्ठ बताउँछन् । गत वर्ष पनि अनुमति दिएको भन्दा ११ सय मिटरभन्दा बढी क्षेत्रमा उत्खनन गरिएको थियो । यस सम्बन्धमा मेयर राईसँग प्रतिक्रिया लिन खोज्दा आफूलाई केही थाहा नभएको भनी पत्रकारहरुबाट पन्छिनुभएको थियो ।

नेपाली कांग्रेसका मेयर राई र उपमेयर मन्जु भण्डारीको सहमतिमा खोलामा उत्खनन भइरहेकोमा स्वयं कांग्रेसबाट जितेका धरान वडा नं १, ५, १८ का वडाध्यक्ष र कांग्रेसकै महासमिति सदस्य पर्वत राई, सन्तोष विकहरुले विरोध जनाएका थिए । उनीहरुले सेउती खोलामा उत्खनन भइरहेकोे बेला फिल्मी शैलीमा गाडी र बाइकमा चढेर ५० जना युवाहरुसहित पुगेका थिए । सो दिन उनीहरुले उत्खनन कार्य रोके पनि भोलिपल्टदेखि फेरि शुरु भएको छ । तर के फेरि कसरी उनीहरुले उत्खनन गर्न मेयरलाई दिए भन्ने कुराचाहिँ शंकाको विषय भएको छ । तर डिएफओ दानबहादुर श्रेष्ठ भने धरान उपमहानगरपालिका आफैँले वन क्षेत्रलाई मास्न उद्यत भएकामा छक्क परेको बताउँछन् । हामीले जति भन्दा पनि नियमको उल्लंघन गर्न मेयर उपमेयरलगायत केही वडाध्यक्षसमेत लागेकाले आफूले पनि यसबारेमा सिडियोसा’बसँग सुरक्षाका लागि पत्र दिएको बताए । अहिले सुनसरीको धरानमा मात्र वन क्षेत्र मास्ने काम व्यापकरुपमा भइरहेकोमा चिन्ता व्यक्त गर्दै रोक्न जाँदा आफ्नै कर्मचारीलाई प्रतिकार समिति बनाएर लखेट्न थालेपछि आफूहरु निरीहजस्तै बनेको बताउँछन् ।

रुख काण्डबाट मेयर मुक्त नहुने

गत वर्ष धरान–२० स्थित भालुढुंगा सामुदायिक वन क्षेत्रभित्र आफैँ पसेर एक थान सखुवाको रुख काटेको अभियोग लागेका धरानका नगरप्रमुख राईमाथि वन मुद्दा चलिरहेको कुरा वन अधिकृत राजेन्द्र यादवले बताए । उनका अनुसार आफूले रुख काटेको र एकपटकलाई क्षमा दिनु भनी गाउँलेसमक्ष माफी मागेको अडियो रेकर्ड बाहिर आएको थियो । अहिले सो दिन आफूले रुख काट्न नलगाएको कुरा मेयरले बताउँदै आए पनि वन कार्यालयले सो अडियो रेकर्डलाई रुजु गर्नुपर्ने भएकाले वनमा उपस्थित हुन मेयर राईलाई पटकपटक पत्र काटेको दुई महिना भयो तर उनी उपस्थित हुन मानेका छैन् । अब पनि अटेर गरेमा वन नियमअनुसार अदालतको आदेशमा प्रहरीमार्फत भ्वाइस रेकर्ड लिन लगाउने योजना रहेको डिएफओ श्रेष्ठ बताउँछन् ।

सो रुख काण्डमा मेयरको साथ दिने नेपाली कांग्रेसका सदस्य तथा भालुढुंगा सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतलाई एक महिना हिरासतमा राखी तारेखमा छाडिएको थियो भने रुख काट्ने चार जना मजदुरहरुलाई पनि एक हप्ता थुनामा राखी जमानतमा छाडी मुद्दा चलाइएको थियो । मेयरले रुख काट्न आफैँ जंगल पसेको भनी सोही सामुदायिक वनका अध्यक्ष बलबहादुर तामाङले मेयर राईसहित ७ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । वनले ४ जनालाई तत्कालै पक्राउ गरे पनि मेयर राईलाई भने उक्त मुद्दामा संलग्न नभएको भनी तत्कालीन जिल्ला वन डिभिजनका प्रमुख ज्ञानकुमार लामाले बचाएका थिए । तर रुख आफूले गाउँमा घर बनाउन काट्न लगाएको स्पष्ट पार्दै स्थानीय सामुदायिक वनका पदाधिकारीहरुसामु माफी मागेको मोबाइल रेकर्ड सञ्चारमाध्यममा सार्वजनिक भएपछि भने उनलाई बयानमा बोलाउन वन कार्यालय बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्