Logo
Logo

लुम्बिनीमा विपक्षी गठबन्धनले उठाए सरकारको वैधानिकतामाथि प्रश्न


दृष्टि संवाददाता


काठमाडाैं । लुम्बिनी प्रदेशमा विपक्षी चार गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
मंगलबार लुम्बिनी कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै पोखरेल नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।

विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा ४ अनुसार प्रदेश सरकारले तीस दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भएपनि हालसम्म विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतामाथि प्रश्न गरेका हुन् ।

गठबन्धनले संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनेको भएपनि सर्वोच्च अदालतको जेठ ३ गतेको अन्तरिम आदेशपछि संसदमा ८३ सांसद संख्या रहेको तर्क गरेको छ । जसका कारण संविधानको धारा १६८ को उपधारा २ स्वतः आकर्षित भएकाले मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने निष्कर्ष उनीहरूको छ ।

प्रक्रिया पूरा नगरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने भन्दै विश्वासको मत लिनुपर्ने बताएका छन् । साथै संविधानको मर्म र भावना अनुसार नै काम गर्न पनि संसदको ध्यानाकर्षण गठबन्धनले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्