Logo
Logo

लुम्बिनीमा नीति तथा कार्यक्रम पेश, विपक्षीकाे सांकेतिक बहिष्कार


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको सांकेतिक बहिष्कार गरेका छन् ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिररहँदा विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु अनुपस्थित भएका हुन् ।

विपक्षी दलका ४० सांसदमध्ये नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती लगायत केही सांसद मात्र प्रदेशसभा बैठकमा उपस्थित छन् । सत्ता पक्षका सांसदहरु भने अधिकांश उपस्थित छन् ।

गत वैशाख १९ गते अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले जबर्जस्ती मुख्यमन्त्री नियुक्त गर्दै सपथ गराएको विरोधमा नीति तथा कार्यक्रम बहिस्कार गरेका हुन् ।

विपक्षी दलहरुले राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएको हुँदा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने वा बहुमतसिद्ध गर्न विश्वासको मत लिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्