Logo
Logo

ओलीको वक्तव्य जालझेलपूर्ण रहेकाे बामदेवकाे आरोप


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको सदस्यसहितको स्थायी कमिटीको बैठक बोलाउन भनेका हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताएका छन् ।

विज्ञप्तिमा उनले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने उल्लेख गरेका छन् ।

गौतमले अध्यक्ष ओलीको पछिल्लो वक्तव्य कुटिल र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको भए पनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्