Logo
Logo

प्रहरीको मिसन सपना बन्द


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी जागिरको एउटा सपना ‘शान्ति मिसन’ थियो । एक पटक भएपनि मिसनमा जान पाइन्छ र त्यसले ठूलो आर्थिक राहत दिन्छ भन्ने कुराले प्रहरी जागिरको आकर्षण थियो । तर, यो आकर्षण पनि अब बन्द भएको छ ।

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस यूनिट (एफपीयु) मिसन बन्द भएसँगै प्रहरीको शान्ति मिसन सपना तत्कालका लागि अन्त्य भएको छ ।

सुडान मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियुलाई पुलिस गार्ड यूनिट (पिजीयु)का रुपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियुले यूएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्ने छ ।

सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । जसअन्र्तगत यो वर्षभित्र राष्ट्रसंघ अन्र्तगत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियु कार्यरत छन् ।

अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रुपमा शान्ति स्थापना भइनसकेको भएपनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो ।

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको ‘एफपीयु’ मिसन बन्द भएसँगै प्रहरीको शान्ति मिसन सपना तत्कालका लागि अन्त्य भएको छ ।

सन् २००८ को सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपीयू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जून अनियमितता नेपाल प्रहरीका तीन पूर्वआइजीपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् ।

मिसनका लागि आवश्यक एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ ।

हाल सुडानमा प्रहरीका ८ वटा एपिसी छन् । जसमध्ये २ वटा भने केही महिनाका लागि राखिने भएको छ । थप सामान राष्ट्रसंघले नै नेपाल ल्याइदिनेछ । नेपाल प्रहरी एफपीयू मिसन अन्र्तगत हाइटी र सुडानमा खटिएको थियो । हाइटी मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ ।

सुडान मिसन पनि बन्द भएपछि शान्ति मिसनमा जाने प्रहरीको अवसर कम हुँदै आएको छ । एफपियु बाहेक प्रहरी पर्यवेक्षकका रुपमा ‘अनपोल मिसन’को कोटा पनि कम हुँदै गएको छ । हाल ३२ जना प्रहरी पर्यवेक्षकका रुपमा विभिन्न अफ्रिकी देशमा खटिएका छन् ।

अनपोल मिसनका लागि राष्ट्रसंघले लिने परीक्षा उत्तीर्ण गरेका कतिपय प्रहरी अवसर कम हुँदा जान पाएनन् । कोरोना महामारी कम भएपछि फेरि अर्काे परीक्षा लिने प्रहरी प्रधान कार्यालयको तयारी छ । अनपोल मिसनमा पनि प्रहरीको अवसर कम हुँदै गएको छ ।

शान्ति मिसनमा नेपाली सेनाको सहभागीता बढीरहेको बेला नेपाल प्रहरीको भने बन्द हुँदै गएको छ । विगतमा सामान खरिदमा भएको भ्रष्टाचारपछिको असरसमेत भएको केही प्रहरी अधिकारी बताउँछन् । राष्ट्रसंघले अर्काे एफपियू दिने बताउँदा नेपाल प्रहरीले सुडान मिसनको भ्रष्टाचारको कारण समयमा सामान किन्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्