Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

गण्डकीमा एमाले सरकार ढलेकोदेखि नागरिकता अध्यादेश रोक्न सर्वोच्चको आदेशसम्म


दृष्टि संवाददाता


१. पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि, ४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त, देशभर गरी थप ५९ जनाको मृत्यु , उपत्यकामा सामान्य वार्डमा भर्ना हुने संक्रमितको संख्या घट्यो, आईसीयूमा चाप उस्तै, एक स्वास्थ्यकर्मी एक संस्था कार्यविधिका विषयमा सरकारी नर्सहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारका लागि पाउने सेवाको विवरण सार्वजनिक, निःशुल्क सेवा विवरणमा संक्रमितको उपचारदेखि खानासम्म निःशुल्क अस्पतालले सेवा दिनुपर्ने उल्लेख ।

२. प्रधानमन्त्रीद्वारा १९ औँ पटक मन्त्रिपरिषद विस्तार, बिहीबार मात्रै ७ मन्त्री र १ राज्यमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सपथ, गृहमन्त्रालयको जिम्मा खगराज अधिकारीलाई दिइयो, सञ्चार तथा सूचना मन्त्रीमा नैनकला थापा नियुक्त, विस्तारसँगै मन्त्रिपरिषद बल्ल पूर्ण, जनपेक्षा अनुसार काम गरेर देखाउन प्रधानमन्त्रीको मन्त्रीहरूलाई निर्देशन ।

३. सर्वोच्च अदालतद्वारा नागरिकता सम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी, वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहितले दायर गरेको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासद्वारा नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश, नागरिकता अध्यादेश जारी गर्नुपर्नाको कारण समेत बाटोको म्यादबाहेक ७ दिनभित्र दिन सरकारका नाममा कारण देखाउ आदेश समेत जारी ।

४. सर्वोच्च अदालतद्वारा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश, एमालेको माधव नेपाल पक्षधर सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली, एमालेको केन्द्रीय समितिको निर्णयमा नभई महाधिवेशन आयोजक समितिको निर्णयका आधारमा स्पष्टीकरण नमागिएको र महाधिवेशन आयोजक कमिटी कारबाहीका लागि आधिकारिक नभएको आदेशमा उल्लेख ।

५. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि सरकार ढल्यो, प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेसँगै नयाँ सरकार गठनको बाटो खुल्यो, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली प्रधानमन्त्री बन्ने पक्का, प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीको लागि आह्वान गरेसँगै दावी प्रस्तुत गर्ने, गठबन्धनको सरकार बनाउन सहयोग गर्ने विषयमा बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल ।

६. चार विभिन्न प्रदेशले ल्याए नीति तथा कार्यक्रम, कोरोना महामारी नियन्त्रणका लागि विशेष योजना समावेश, प्रदेश १ को अधिकांश कार्यक्रम स्वास्थ्यमा केन्द्रित, प्रदेश २ द्वारा ‘बेटी पढाउ, बेटी बचाउ’, ‘जहाँ सडक, त्यही विकास’ लगायतका अभियानलाई निरन्तरता, अभिभावक गुमाएका बालबालिकालाई तीन हजार भत्ता दिने वागमती प्रदेशको योजना, सुदूरपश्चिम प्रदेशद्वारा कृषि क्षेत्रलाई प्राथमिकता ।

७. प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले विरोध गरेपछि अघि बढ्न नसकेको कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अघि बढाउनेबारे सहमति, सर्वदलीय बैठक बसेर भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापालाई सभामा प्रवेश गर्न नदिने सहमति भएसँगै संसद चल्न दिने सहमति, सहमतिसँगै बजेट अधिवेशन अघि बढ्ने ।

८. सेयर बजारमा सामान्य करेक्सन तर कारोबारमा उछाल, एचआइडीसीएलको सर्बाधिक कारोबार, बैंकहरुको मुद्दति निक्षेप बढ्यो, दोस्रो बजारमा अब रुपैयाँमा मात्रै होइन पैसामा पनि कारोबार गर्न पाइने, ‘टिक साइज’ एक रुपैयाँबाट १० पैसामा झर्दै, ३५ वटा ब्रोकर थप्ने बोर्डको तयारी ।

९. फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै,कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्ने, डेब्यू गर्न बाँकी खेलाडीले अस्ट्रेलियाविरुद्ध अवसर पाउनसक्ने प्रशिक्षक अल्मुताइरीको संकेत, नेपालको त्रिकोणात्मक सिरिजको तयारी प्रशिक्षक ह्वाटमोर फर्किए लगत्तै सुरु हुने ।

१०.र, भारतमा कोरोनाका कारण एकैदिन सबैभन्दा बढी ६ हजार व्यक्तिको मृत्यु, अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने, श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने,आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता, म्यानमारको सैन्य प्रशासनले अपदस्थ गरेको नेतृ आङ साङ सूची विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर ।

प्रतिक्रिया दिनुहोस्