Logo
Logo

चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमामा गर्न निर्देशन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगको सातौं बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले जनशक्ति उत्पादनकाे नीति आवश्यक रहेकाे भन्दै त्यसका लागि जनशक्ति आवश्यकताकाे लेखाजाेखा गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले भने,‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।’ आयोगको विगत दुई वर्ष सन्तोषजनक नभएकाले प्रभावकारी काम गर्न उनले निर्देशन दिए ।

उनले त्यसरी आवश्यकताको पहिचान गरी जनशक्ति उत्पादन भएमा रोजगारीको पनि समस्या नहुने बताउँदै अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत जनाए ।

‘‘गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वयंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धी हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमतर्फ औंल्याउँदै प्रधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्