Logo
Logo

हजारौं विदेशी नेपालमा के गर्छन् ? सरकारलाई थाहा छैन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । नेपालबाट अध्ययनका लागि विभिन्न देश पुग्ने विद्यार्थीको संख्या बढ्दो छ । विकसित देशमा नेपालजस्तो अविकसित देशका युवाहरु अध्ययनमा जाने क्रम बढ्नु कुनै अनौठो विषय होइन ।

तर, अनौठो विषयचाहिँ के छ भने विकसित देशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अध्यागमन विभागको तथ्याङकअनुसार सन् २०१८ मा दुई हजार विदेशी विद्यार्थी अध्ययनका लागि भनेर नेपालमा आएका छन् । के साँच्चै उनीहरु अध्ययन गर्न नै नेपाल आएका हुन् ? विभागका एक अधिकारी भन्छन्,‘उनीहरु के गर्छन् हामीलाई केही थाहा छैन । उनीहरुमध्ये धेरै गाउँ गाउँमा गएर धर्म प्रचार गर्छन् भन्ने सुनिन्छ ।’ कतिपय जासुसी तथा केही व्यक्तिहरु अपराधिक गतिविधिमा संलग्न रहेको स्रोत बताउँछ । अध्ययन, बिजनेश जस्ता भिसामा नेपालमा बसेर अवैध गतिविधिमा लाग्ने विदेशीको संख्या बढ्दो छ । सरकारले उनीहरुलाई नियमन र कारबाही गर्न नसक्दा नेपाल विदेशीहरुको क्रिडास्थल बनिरहेको छ ।

के पढ्छन विदेशी नेपालमा ?

नेपालमा अध्ययन भिसामा रहेकामध्ये करिब एक सय मात्र वास्तविक विद्यार्थी हुन् । एमबिबिएसलगायत केही प्राविधिक विषयमा अध्ययनका लागि श्रीलंका, माल्दिभ्स, बंगलादेशलगायत देशबाट विद्यार्थीहरु नेपाल आउने गरेका छन् । अध्ययन भिसा लिनेमध्ये धेरैजसो ननएकेडेमिक कोर्समा छन् ।

दुई हजार विदेशीमध्ये एक सय ६४ जना विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । धेरैजसो नेपाली भाषा पढ्न भनेर भर्ना भएका छन् । क्याम्पसका विदेश विभाग प्रमुख रीतादेवी निरौलाका अनुसार यो सिजनमा भर्ना भएका एक सय ६४ विदेशीमध्ये एक सय ३८ जनाले नेपाली भाषा पढिरहेका छन् । केहीले भने नेवारी र संस्कृत विषय अध्ययन गर्न भनेर भर्ना भएका छन् । उनीहरू क्याम्पस भने कहिलेकाहीँ मात्रै जान्छन् । उनीहरू कहाँ बस्छन्, के गर्छन् भन्नेबारे कतैबाट अनुगमनसमेत भएको छैन । अध्ययन भिसाको दुरुपयोग रोक्न विश्वभाषा क्याम्पसले पनि कडाइ गर्नुपर्ने अध्यागमन विभागका अधिकारीहरूको भनाइ छ । कतिपय विद्यार्थी नियमित नरहेको विभागकी प्रमुख निरौलाले बताइन् । तर, उनीहरूमाथि आफूहरूले अनुगमन गर्न सम्भव नभएको उनको भनाइ छ । रिसर्चका नाममा पनि ठूलो संख्यामा विद्यार्थीमा नेपालमा बसेका छन् । रिसर्चका नाममा हिमाली जिल्लाहरूमा गएर उनीहरू जासुसीलगायतका गतिविधिमा संलग्न भएको उजुरीसमेत पर्ने गरेको छ । उनीहरू विदेशी धर्म प्रचारमा संलग्न रहेको उजुरी पनि परेको छ । तर, प्रमाण नभेटिएको भन्दै कारबाही गरिएको छैन । अनुगमन नै नगरी अध्यागमनका अधिकारीहरुले प्रमाण खोज्ने गर्दछन् ।

राज्यकै सहयोग ?

नेपालीले विदेशमा अध्ययन भिसा पाउन लाखौँ खर्च गर्नुपर्छ । तर, विदेशीले भने एक हजार डलरभन्दा कममै अध्ययन भिसा पाउने गरेका छन् । विश्वभाषा क्याम्पसले भर्नामा पाँच सय डलर लिने गरेको छ । भिसाबापत मासिक २० डलर तिरे पुग्छ । त्यसबाहेक शिक्षा मन्त्रालयको सिफारिसपछि पनि अध्यागमनले भिसा दिने गरेको छ । एक वर्षका लागि खातामा एक हजार पाँच सय डलर भए हुन्छ । खातामा रहेको रकमबारे पनि खासै खोजी हुँदैन । त्यहीकारण विदेशीहरु विद्यार्थीको आवरणमा नेपालमा अवैध गतिविधिमा लागेका छन् ।

रिसर्चका नाममा पनि ठूलो संख्यामा विद्यार्थीमा नेपालमा बसेका छन् । रिसर्चका नाममा हिमाली जिल्लाहरूमा गएर उनीहरू जासुसीलगायतका गतिविधिमा संलग्न भएको उजुरीसमेत पर्ने गरेको छ । उनीहरू विदेशी धर्म प्रचारमा संलग्न रहेको उजुरी पनि परेको छ । तर, प्रमाण नभेटिएको भन्दै कारबाही गरिएको छैन । अनुगमन नै नगरी अध्यागमनका अधिकारीहरुले प्रमाण खोज्ने गर्दछन् ।

बिजनेश भिसामा धर्मको व्यापार

नेपालमा बिजनेश भिसाको दुरुपयोग पनि बढेको छ । बिजनेश भिसामा बसेर सयौं विदेशीहरु चर्च खोलेर नेपालमा बसेका छन् । व्यवसायको आवरणमा नेपालमा अवैध गतिविधिमा संलग्न केही विदेशी कम्पनीमाथि भने केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले अनुसन्धान सुरु गरेको छ ।

उद्योग विभागको अनुगमनमा उद्देश्यविपरीत गतिविधिमा संलग्नमाथि कारबाही अघि बढाइएको हो । १० कम्पनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कारबाही सुरु गरिसकेको छ । ‘थप दुईवटा कम्पनीले पनि व्यवसायको आवरणमा अन्य गतिविधि गरेको पाइयो,’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह भन्छन्, ‘उनीहरूमाथि पनि कारबाहीका लागि पत्राचार गर्न लागेका छौँ ।’

हिमालयन टेक्नोलोजी सोलुसन, कोरियन ल्याङ्ग्वेज ट्रेनिङ सेन्टर, डिचेन अर्गा्निक, इमानुअल लर्निङ सेन्टर, हाम्रो ट्रेनिङ सेन्टर, नेपाल एमभिसिबिएसपी ट्रेकिङ स्टुडियो, होटेल काउन्ट कागमेल, जे सिलनस म्युजिक, स्यालभेसन म्युजिक सेन्टर, क्याफे थोनाफेलगायत कम्पनीका सञ्चालकमाथि सिआईबीले छानबिन अघि बढाएको छ ।

उनीहरूमध्ये धेरैले सम्झौताअनुसार काम नगरेको महानिर्देशक सिंहले बताए । कतिपयले विदेशबाट लगानी ल्याएको भनेर नक्कली बैंक स्टेटमेन्टसमेत पेस गरेको खुलेको छ । लगानी ल्याएपछि मात्र उनीहरूले बिजनेस भिसा पाउँछन् । उद्योग विभागका कर्मचारीले समेत राम्रोसँग नबुझी नक्कली कागजपत्रकै आधारमा बिजनेस भिसा सिफारिस गरेका थिए । कतिसम्म भने उनीहरुले लगानी ल्याएको भनेर नक्कली बैंक स्टेटमेन्ट समेत पेश गरेको खुलेको छ ।

उद्योग विभागको सिफारिसमा मात्र अध्यागमन विभागले विदेशीलाई बिजनेस भिसा दिन्छ । पर्यटक भिसामा नेपालमा एक वर्षमा एक सय ५० दिनभन्दा बढी बस्न नपाउने भएकाले अवैध गतिविधिमा बस्नेहरूले बिजनेसलगायत गैरपर्यटक भिसा लिने गर्छन् ।

उनीहरुमाथि नियमन नहुने भएकाले भिसाको दुरुपयोग गरी नेपालमा अवैध गतिविधि गर्दै आएका छन् । विदेशी नागरिकमाथि अनुगमन गर्न सरकारले केही महिनाअघि निर्देशिका समेत बनाएको थियो । तर, अध्यागमन विभाग लगायत सम्बन्धित निकायमा अनुगमनमा चासो दिएका छैनन् । जसकारणमा नेपालमा विदेशीको अवैध गतिविधि बढीरहेको छ ।

बिजनेश भिसामा बसेर चर्च चलाउने दुई विदेशीलाई गत वर्ष सरकारले निष्काशन गरेको थियो । नेपालमा सरकारले क्रिश्चियन धर्मप्रति आक्रामक बनेको भन्दै पश्चिमी देशबाट दबाब आएको थियो । त्यहीकारण अनुगमनमा चासो नदिएको आँकलन समेत गरिएको छ ।

धर्म प्रचार मात्र होइन बालयौन दुराचार, लागूऔषधको कारोबार, एटिएम ह्याकिङजस्ता अपराधमा पनि विदेशीले नेपाललाई दुरुपयोग गरिरहेका छन् । नेपालमा पर्यटकलाई अतिथीको रुपमा व्यवहार गर्ने तर उनीहरुमाथि निगरानी गर्ने बलियो संयन्त्र नहुँदा यस्तो विकृती बढ्दै गएको हो ।

पर्यटक भिसामा आउने विदेशीहरु पनि अवैध गतिविधिमा संलग्न हुने गरेका छन् । पर्यटक भिसामा आउनेहरु पाँच महिनासम्म बस्ने गर्दछन् । नेपाल घुम्न आउने वास्तविक पर्यटक करिब दुई साता मात्र बस्दछन् । धर्मप्रचार, जासुसी तथा अन्य अपराधिक गतिविधिमा संलग्नहरु भने महिनौं बस्दछन् । यसमा चिनियाँहरुको संख्या पनि ठूलो छ ।

सरकारले चिनियाँ पर्यटकलाई भिसा शुल्क निशुल्क गरिदिएको छ । जसकारण चिनियाँहरु पर्यटक भिसामा आएर उनीहरु नेपालमा अवैध रुपमा व्यापार समेत गरिरहेका छन् । हुन्डी, डलर र सुनको अवैध कारोबारमा पनि उनीहरुको संलग्नता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्