Logo
Logo

चन्द समूहका जिल्ला इञ्चार्जसहित चार कार्यकर्ता पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।

नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ ।


यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो ।

त्यसैगरी नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् ।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई तिनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिनुभयो । 

पक्राउ परेकाहरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्