काठमाडौं । कठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ ।
प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छन् । अबको निषेधाज्ञामा खाद्यान्न ,फलफूल, किराना पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने भएका छन्।
यस्तै, विकास निर्माणमा प्रयोग हुने सामग्रीहरु (हार्ड वयर)को पसल र बिजुली पसल अपरान्ह ४ बजेदेखि खाेल्न पाइने भएकाे छ । यस्तै, अनलाइनमार्फत हुने डेलिभरी बिहान ७ बजे देखि खुल्ने निर्णय भएको छ ।
होटलहरुले होटलमा बनाएर घरमा डेलीभरी गर्ने (टेक एण्ड अवे) सेवा सञ्चालन गर्न पाउने, तर होटलमै बसेर खान नपाइने व्यवस्था गरिएको छ। त्यस्तै कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजिकरण गर्ने दिइने भएको छ ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुन: खोल्न दिइएको थियो ।
किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ ।











