काठमाडौं । ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई गण्डकी प्रदेशका एक प्रदेश सभा सांसदले धम्की दिएका छन् । डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई सांसद मेखलाल श्रेष्ठले ‘हिसाब किताब’ हुने भन्दै धम्की दिएका हुन् ।
सांसद श्रेष्ठले ‘नाम के हो हिसाब किताब हुन्छ’ भन्दै ड्युटीका इन्स्पेक्टरमाथि धम्की दिएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ।
सांसद श्रेष्ठसहित एक हुल मानिस शनिबार नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै थिए ।
सोही क्रममा इन्स्पेक्टर थापा मगरको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो । इन्स्पेक्टर थापा मगरले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिएका हुन् ।
उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।’ त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठले भन्छन्, ‘फुर्ती नछाटम्।’
‘फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि,’ छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है।’
श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी छ।
सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्ने भएछन् । श्याम थापा मगरले दह्रो दिनुभएछ ।
भिडियो: साभार pic.twitter.com/Fvj7fm8yND— चित्र-शब्द (@picwrds) June 13, 2021












