Logo
Logo

खरानीमाथि उभिएर हेर्दा


लक्ष्मण देवकोटा


घर जलेपछि खरानीको खाँचो हुन्न । नेपालको कम्युनिष्ट आन्दोलनका अनेक भँगालाहरु तरेर एकीकृत घरलाई आगो झोंस्ने काम खड्गप्रसाद ओलीले गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुलाई जतिसुकै धारे हात लगाएपनि, यो सबै प्रपन्चको मुख्य जिम्मेवार ओली र उनको गुटलाई जान्छ ।

भारतीय गुप्तचरहरु केका निम्ति मध्यरातमा बालुवाटार छिरेका रहेछन् भन्ने कुरा त महतोहरुको सत्तारोहण र अध्यादेशबाट ल्याइएको बजेटमा चुरे विनाशको घोषणाले नै सबै कुरा बोलेको छ । महाकाली सन्धीका मुख्य योजनाकार ओली भारतीय स्वार्थका निम्ति कतिसम्म गिर्ने रहेछन् पछिल्लो राजनीतिक घटनाक्रमहरुले देखाइरहेका छन् ।

राष्ट्रपतिलाई समेत रबरस्ट्याम्प बनाएर संसदीय व्यवस्थाको खिल्ली उडाउँदा गणतन्त्रको जग नै हल्लिएकोछ । बालुवाटार र शीतलनिवासको मिलिमतोमा यसरी विधिको शासनको हुर्मत लिइँदा जनताको अन्तिम आशा केवल न्यायालयप्रति छ ।

अन्य बँचेखुचेका संवैधानिक अँगहरुलाई त उनले खल्तीमा हालिसकेका छन् । प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुको छनौट गर्ने फैसला गरेपछि कहालिएका ओलीले अर्को शकुनी पासा फालेर एकताको नाटक गरेका छन् । यो माधव–झलनाथ–वामदेवहरुलाई अल्मल्याउने बाहेक असल नियतले गरिएको आग्रह नै होइन ।

प्रधानमन्त्री ओली र उनको गुट कुनै पनि हालतमा हरेक बेइमानी तरिका अपनाएर भए पनि आफैँले निर्वाचन गराउन चाहन्छ भन्ने कुरा पछिल्लो वक्तव्य नौटंकीबाट पनि थाहा हुन्छ । कमजोर र भ्रष्ट देउवाको नेतृत्वमा रहेको प्रतिपक्षसँग उनी पटक्कै डराएका छैनन् । शीतलनिवास उनको हरेक दुष्कर्महरुलाई आँखा चिम्लेर साथ दिएकै छ ।

साम, दाम, दण्ड, भेद सबै अपनाएर मदन भण्डारीको विरासतलाई भजाएर शासन सत्तामा टिकिरहने र जनतालाई अल्मल्याइरहने उनको योजना हो । चुनावी सरकार, वास्तवमा अवैध हो, यो सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी बजेट बाँड्न कुनै पनि लोकतान्त्रिक मुलुकमा मिल्दैन ।

संसदमा विश्वास नै नभएपछि कोही पनि धारा उपधाराको छिद्र देखाएर सत्तामा बसिरहन मिल्दैन । हुँदैन । तर, विदेशी एजेन्टको गुरुयोजनामा चलेका ओलीलाई कुनै विधिविधानको मतलब छैन । देशको ढुकुटीलाई दोहन गर्ने र आफ्नै मित्रहरुलाई दुश्मन करार गरेर पार्टीका क्याडरहरुमै झगडा गराएर कम्युनिष्ट आन्दोलन सिध्याउने काम मुलुकमा भइरहेको छ ।

प्रचण्डसँग मिल्दा त कतिपय ठाउँहरुमा निकै झिनो मतको अन्तरमा जितेको इतिहास छँदाछँदै भएको शक्तिलाई छिन्नभिन्न पारेर कसरी फेरि सत्तामा पुगिएला र ? सबै कार्यकर्तालाई लागिरहेको भए पनि भविष्यको डरले धेरैजना सत्य बोल्न हिच्किचाउनुपर्ने भयको वातावरण सिर्जना गराइएको छ । वडादेखि केन्द्रसम्म आफ्नो गुटभन्दा बाहिरकालाई भित्तामा पुर्याएर उसको राजनीतिक जीवन नै सिध्याउने ओलीको पुरानै शैली हो । यो शैलीसँग परिचितहरु डरका कारण पनि उनको विरुद्धमा बोल्न सकिरहेका छैनन् । कम्युनिष्ट आन्दोलनको लागि यो अर्को डरलाग्दो पक्ष हो ।

भारतीय जनता पार्टीले त हाकै भनेको छ, उ जतिसक्दो चाँडो नेपालमा हिन्दू अधिराज्य स्थापना गर्न चाहन्छ । विहार, उत्तर प्रदेश लगायत नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरुमा बढिरहेको लहरका बारेमा उनीहरुले गर्ने गरेको व्याख्याबाट प्रष्ट भारतीय नीति बुझ्न सकिन्छ । अमेरिकीहरु भारतीय मार्फत् चीन कमजोर पार्न नेपालको मैदान प्रयोग गर्न चाहन्छन् । अमेरिकी विदेश नीतिमै प्रष्ट देख्न र बुझ्न सकिने यो कुराको निम्ति सबैभन्दा ठूलो तँगारो नेपालका कम्युनिष्टहरु एकीकृत हुनु नै थियो ।

सभामुख मार्फत् एमसीसीलाई नरोकिएको भए सम्भवत अहिलेसम्म यो पास भैसक्ने थियो । देशको ढुकुटीमा भ्रष्टाचार गरेर आसेपासेहरुलाई मोटाउन हाल्ने र चुनावका लागि रकम जम्मा गर्ने, अनि देशको विकास चाहिं अमेरिकी सहयोग आएपछि हुन्छ भन्ने जस्तो मूर्ख भाष्यको पक्षमा ओली गुट लिट्टी कसेर त्यसै लागेको कहाँ हो र ?

गरीब, सर्वहारा र सुकुम्बासीको नाम बेचेर सत्तामा पुगेका कम्युनिष्टहरु यसरी बदनाम भएपछि विदेशीले चाहे अनुसार नै हुने भयो । हुँदोखाँदाको दुईतिहाइ निकटलाई भत्काएर १५ सिटे महतोहरुलाई शीरमा बोकेर हिंड्न ओलीहरु किन तयार भए ? उत्तर यसैमा छ ।

आश्चर्य चाहिं के छ भने, ओलीहरु जो संसदलाई देखिसहन्नन्, उनीहरुलाई चुनाव चाहिं किन चाहिएको होला ? बजेट अध्यादेशबाट ल्याउने, नीतिहरु अध्यादेशबाट ल्याउने, आफ्ना निर्वाचन क्षेत्रहरुमा चुनाव जित्ने नियतका साथ बजेटको विनियोजन गर्ने, योग्यता नै नपुगेकाहरुलाई राजदूत बनाउने, अनि ओलीका हरेक कदमहरुमा साथ दिएको मन्त्री पदबाट निस्कँदा मैले यति कर तिरें भनेर लेख्दा कार्यकर्ताले ताली बजाउने यो सबै नौटंकी हो ।

जुन देशमा कर तिर्ने जस्तो सामान्य नागरिकको दायित्व पूरा गर्दा ताली बजाउने जमात छ, त्यहाँ कस्तो खालको नेतृत्व आउला ? खतरा त्यता पनि छ । डाक्टरले बिरामी जाँच्दा, शिक्षकले स्कूलमा पढाउँदा, बस चालकले राम्रोसँग गन्तव्यमा पुर्याउँदा, न्यायाधीशले राम्रोसँग न्याय सम्पादन गर्दा ठूलै बहादुरी गरिए झैं प्रचार गर्न थालियो भने हामी कहाँ रहेछौं भनेर हेर्नुपर्ने हुन्छ ।

सबैले आफूले गर्नुपर्ने काम गरेर त्यस बापत राज्यबाट बेतन पाउँछ भने आफ्नो काम राम्रोसँग गर्नु उसको दायित्व हुन आउँछ । नीतिगत रुपमा गरिएका भ्रष्टाचारहरुको बारेमा बोल्नेलाई साइबर स्यालहरु लगाएर खेद्ने अनि मन्त्रीबाट हट्नासाथ सम्पत्ति विवरण सार्वजनिक गरे । मैले यति कर तिरें भनेर शुद्ध देखिन खोज्नु आफैँमा एउटा पाखण्ड हो । यही पाखण्ड हेरेर ताली बजाउने जमात जहिलेसम्म जमीनमा रहिरहन्छ, तबसम्म ओलीहरु घुमिफिरी सत्तामा आइरहन्छन् र मर्यादित संस्थाहरुलाई बदनाम गरिरहन्छन् ।

संविधानको मनमौजी व्याख्या गर्ने अधिकार व्यक्तिलाई हुँदैन चाहे त्यो प्रधानमन्त्री नै किन नहोस् । अहिले ओली गुटको मुख्य अभिष्ट प्रचण्डहरुलाई नेपालको राजनीतिको पर्दाबाट सधैका लागि विदा गर्नु, माधव नेपालहरुलाई दण्डित गरेर हरुवा सिपाही बनाएर आफ्नो अरनखटनमा पार्टी भित्र हेपेर, दपेटेर राख्नु र सत्ताको चरम दुरुपयोग गरेर चुनाव जितेर फेरि देशको ढुकुटीको दोहन गर्नु नै हो ।

यो कम्युनिष्ट नीति, सिद्धान्त र चिन्तनको बिल्कुल विपरीत कुरा हो । भारतीय लगानीकर्ताहरुलाई खुलेआम नेपालको बजार सुम्पिनु, दलाल पुँजिपतिहरुलाई राष्टिय सम्पतिमा दोहन गर्न दिएर सिमित मानिसहरुको जीवनस्तरमा परिवर्तन ल्याउनु बाहेक उत्पीडित, दमित वर्गको हितको निम्ति यो गुट चिन्तित छैन भनेर बुझ्न अहिलेसम्मका निर्णयहरु हेरे हुन्छ ।

भन्नलाई मदन भण्डारीको जनताको बहुदलीय जनवाद भनिरहने तर नीति, नियम, सँगठनका मर्यादा सब लत्याएर आफ्नै गुटको आधिपत्य जमाइरहन खोज्ने प्रवृत्ति वाम आन्दोलनको एजेरु हो । कालान्तरमा यसले कम्युनिष्ट आन्दोलनलाई सिध्याएरै छाड्छ । माधव कुमार नेपाल र झलनाथ खनालहरुलाई हेरेर काखी बजाउनेहरुले भोलि पश्चिम बंगालको नियति भोग्न थालेपछि बल्ल चेत्नेछन् । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रले लेखेकाछन्–
धर्तीमा सुखशान्तिका किरणले छाईदिने लक्ष्यका
हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका
पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि
सच्चाइसित थर्र थर्र डरले नार्मदको के जुनि रु जनघोष, २०४६

ओली गुटको यो गलत प्रवृत्तिविरुद्ध लडेर पराजित गर्नु नै सच्चा वामपन्थीहरुको पहिलो काम हुनुपर्दछ । भन्नलाई निर्वाचित र लोकतान्त्रिक सरकार तर गर्नलाई पूर्णत तानाशाही चरित्र । बदनाम ओलीको बिदाइ नै पहिलो कार्यसूची हुनुपर्दछ । अलमलमा परियो भने फेरि उनले दास बनाउनेछन् । दास बन्न तयार हुने कि ? स्वाभिमानीपूर्वक शीर ठाडो पारेर उभिने ? निर्णय गर्ने बेला भएको छ ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्