Logo
Logo

धनुषामा तस्करी बढ्यो


दृष्टि संवाददाता


धनुषा । धनुषामा केही दिनयता तस्करी निकै फस्टाएको छ । कोरोना कालमा लकडाउनको मौका छोपी त्यहाँको विभिन्न नाकाबाट रातदिन तस्करी भइरहेको छ । धनुषाको फुलगामा, जटही, धनौजी, इनरवालगायतका नाकाहरुबाट नेपाल र सशस्त्र प्रहरीसंगको सेटिङमा तस्करी भइरहेको सजिलै हेर्न सकिन्छ । सानोतिनो ब्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला ब्यापारीहरुले भारतबाट रातारात लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।

अहिले नेपालबाट रक्सी, चिनियाँ स्याउ, तुथपेष्ट, फेयर एण्ड लबलीलगायतका सरसामान भारत पठाउने गरिएको छ । यस कार्यमा धनुषाका प्रमुख तस्कर सुरेश साह, सुल्तान मियाँ, शत्रुधन साह, प्रदीप साह, मन्सुरलगायतको संलग्नता भएको स्रोत बताउँछ ।

बिहारको खौना नाकाबाट सुरेश साहले बैदेही औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरु र डिजल र पेट्रोलको व्यापक तस्करी गर्ने गरेको छ । यताबाट साहले रक्सी, स्याउलगायतका सरसमान भारत पठाउने गरिएको छ ।

यस्ता तस्करी गराउने कार्यमा एफओबी इटहर्वा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, बैदेही रेल्बे स्टेशनले सुरेश साहलाई सहयोग गर्ने गरेको छ । एफओबी इटहर्बामा कार्यरत सई चन्द्रबहादुर थापालाई डिआजी चन्द्रप्रकाश गौतमले तस्करी रोक्छ कि भनेर विश्वास गरेर पठाएका हुन् । तर, धनुषामा सशस्त्र प्रहरीभित्र थापालाई डिआजी गौतमको विश्वास पात्र भनेर चिनिन्छ । तर दुर्भाग्य सई थापा र बोर्डर आउट पोस्ट, बैदेही रेल्बे स्टेशनका इन्सपेक्टरले नै सुरेश साहलाई तस्करीमा सघाएको आरोप छ । यसैगरी धनुषाकै बीओपी जटही एरियामा पर्ने लग्मा गाठागुठीबाट अहिले मन्सुर भन्ने ब्यापारीले स्याउको लाइन लिएर काम गर्दैछन् ।

को हुन् सुरेश साह ?
करिब एक दशक आगाडि काठको झोपडीबाट बिँडी, खैनी तथा चकलेटका ब्यापार सुरु गरेका धनुषा तारापटिका सुरेश साह अहिले तस्करहरुको बादशाहका रुपमा चिनिन्छ । ब्यापार शुरु गरेका केही वर्ष पछि साह सानो तिनो परिमाणमा भारत नेपाल तेल, चिनी, चप्पल, पाउडर दुध लगायतका मालसमान ढुवानी गर्थे ।

सानोबाट कारोबार गर्दै जाँदा कयौंपटक माल सामान पक्राउ पनि परेको थियो । विस्तारै प्रहरी संगठनमा नजिकको मान्छे भएका कारण प्रहरीसंग सेटिङ मिलाउन तथा कारोबार बढाउन उनलाई अप्ठयारो भएन । तैपनि बेलाबेलामा मालसामान पक्राउ परेपछि धेरै आर्थिक क्षति बेहोर्नु परेको थियो ।

केही वर्ष यता भन्सार प्रमुखसंग मिलेर तस्करीसंगै अर्को धन्दा सुरु पनि गरेको थियो । भन्सार प्रमुखले बिभिन्न फर्मको नाममा भन्सारबाट हुने सबै लिलामीका मालसमान तस्कर साहलाई मात्र दिने गरेको थियो । समय बदलिएसँगै हाल सुरेशको सम्बन्ध भन्सार प्रमुखसंग त्यति राम्रो नभएपछि हाल पुरानै पेशा तस्करी नै रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्