काठमाडौं । विगत डेढ वर्षदेखि लोक सेवा आयोगका परीक्षा रोकिदा हजारौं कर्मचारीको करिअरमा यसको असर परेको छ । परीक्षाको पखाईमा रहेका युवादेखि सचिव बढुवाको प्रतिक्षामा रहेका सचिव समेत यसबाट प्रभावीत भएका छन् ।

हाल सचिवका मात्र सात पद रिक्त छन् । लोक सेवा आयोगमा पदाधिकारी नहुँदा सचिव बढुवा हुन सकेको छैन । पछिल्लो पटक सचिव गोपी मैनालीले अवकाश पाएका छन् । त्यसअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अवकाश पाएका थिए । उनको लोक सेवा आयोगको सदस्यमा सिफारिस भइसकेको छ ।
बैशाख ६ गते बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विक, वैशाख ७ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वली, वैशाख २४ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सिंचाइ सचिव मधुसुधन अधिकारीले अवकाश पाएका थिए । यस्तै जेठ ६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, जेठ १५ गते कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ अवकाश पाएका थिए । राष्ट्रपति कार्यालयका डा हरि पौडेलको पद पनि रिक्त हुँदैछ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस भएका छन् ।
यी पदमा लोक सेवामा नयाँ पदाधिकारी आएपछि मात्र बढुवा प्रक्रिया सुरु हुनेछ । पूर्व सचिव माधव रेग्मी आयोगको अध्यक्षमा सिफारिस भएका छन् । तर, सिफारिसविरुद्ध मुद्दा परेकाले नियुक्ति अन्योलमै छ । सहसचिवहरु कृष्णबहादुर रावत, डा.दामोदर रेग्मी, गणेश प्रसाद पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुस्कर सचिव बढुवामा प्रमुख दाबेदार छन् ।
सहसचिव र उपसचिवका पनि ठूलो संख्यामा पद रिक्त भएपनि लोक सेवा आयोगले अघिल्लो वर्षकै परीक्षाहरुलाई पूर्णता दिन सकेको छैन । कोरोना संक्रमण घट्दै गए असारको दोस्रो सातापछि स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा अघि बढाउने आयोगको तयारी छ ।











