काठमाडौं । परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवालीको बहिर्गमन र रघुवीर महासेठको आगमनलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । ज्ञवाली कूटनीतिक ‘सेन्स’ बुझ्ने मन्त्री हुन् । महासेठ कूटनीतिको ‘क’ पनि नबुझ्ने मन्त्री हुन् । ज्ञवाली पहिलोपटक पर्यटनमन्त्री हुँदा पनि उनको स्वच्छ छवि थियो, दोस्रोपटक परराष्ट्रमन्त्रीबाट बिदा हुँदा पनि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर स्वच्छ छवि कायम राखे । महासेठ भौतिक पूर्वाधार मन्त्री हुँदा विवादमा परेका थिए । ठेकेदारसँग सेटिङमा काम गरेको गुनासो प्रधानमन्त्रीसँग पुगेपछि उनलाई हटाइएको थियो । अहिले भएको मन्त्रिमण्डलमा ज्ञवाली फालिनु र महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा नियुक्ति हुनु संयोग मात्र होइन, त्यहाँभित्र राष्ट्रियताको मुद्दासमेत जोडिएको छ ।

नेपालले भारतद्वारा कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली भूमि समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि भारतसँग नेपालको सम्बन्ध चिसिएको थियो । त्यही कारण भारतले ‘राईसीना डायलग’मा नेपाललाई आमन्त्रण गरेन । परराष्ट्रमन्त्रीको हैसियतले दुवै छिमेकीसँग सम्बन्ध सुधार गर्ने नीति ज्ञवालीले लिएको भए पनि उत्तर छिमेकीसँग पूर्वाधार विकासमा हातेमालो गर्न उनी आतुर थिए । चीनसँग गरेको बीआरआई सम्झौतालाई कार्यान्वयन तहसम्म पु¥याउन उनले प्रधानमन्त्रीलाई बारम्बार घचघच्याइ रहे । भारतसँग वार्ता गरेर ‘इपिजी’ रिपोर्ट कार्यान्वयन गर्न पनि उनी प्रयासरत थिए । त्यसका लागि उनको एक्लो प्रयत्न भन्दा पनि प्रधानमन्त्रीको साथ उनले खोजेका थिए । भारतीय समकक्षीसँग कुरा गरेर ‘इपिजी’ कार्यान्वयनमा उनको चासो थियो । किनभने, नेपाल–भारतबीचको धेरै समस्या त्यो रिपोर्टले हल गर्न सक्थ्यो ।
परराष्ट्र मन्त्रालयलाई पारदर्शी र ‘देखिने’, ‘सुनिने’ बनाउन राजदूत नियुक्तिको मापदण्ड बनाए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो मापदण्ड पालना गरेनन् । राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट पचास प्रतिशत र बाहिरबाट राजनीति नियुक्ति गर्दा पचास प्रतिशत बनाउनुपर्ने कुरामा उनले बारम्बार अडान लिए । तर, उनको अडान प्रधानमन्त्रीले सुन्या नसुने गरे । पछिल्लोपटक भएको राजदूत नियुक्तिमा पनि उनले असहमति जनाएका थिए । ज्ञवाली परराष्ट्रमन्त्री भए पनि प्रधानमन्त्रीले मुख्यसचिव शंकरदास बैरागी र राजन भट्टराईको कुरा बढी सुन्ने भएका कारण ज्ञवाली प्रधानमन्त्रीको शैलीसँग रुष्ट थिए । त्यही मौकामा मालिक रिझाउन ज्ञवालीलाई मन्त्रीबाट फालिएको बालुवाटार निकट स्रोतले बताएको छ ।











