सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गरेका हुन् ।
चालू आर्थिक वर्षको बजेट ३३ अर्ब ३८ करोड रुपैयाँ थियो। यस वर्षको भन्दा आउने वर्षको बजेट ३ अर्ब ४ करोड २२ लाख रूपैयाँ कम छ ।प्रस्तुत बजेटमा १७ अर्ब ६५ करोड ४० लाख पुँजीगततर्फ र चालूतर्फ १० अर्ब ६६ करोड ९ लाख रहेको मन्त्री शाहले जानकारी दिए।
प्रदेश सरकारले क्षेत्रगत कार्यक्रम तथा विनियोजन अन्तर्गत आन्तरिक मामिला मन्त्रालयलाई ४२ करोड ८५ लाख, आर्थिक मामिला मन्त्रालयलाई ३० करोड ३३ लाख २३ हजार, उद्योग वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ११ करोड ३८ लाख ४१ हजार, सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड ५९ लाख बजेट छुट्याइएको छ।
यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब ८३ करोड ५६ लाख, भौतिक पूर्वाधार मन्त्रालयलाई ११ अर्ब ७५ करोड ८३ लाख र मुख्यमन्त्री कार्यालयलाई १ अर्ब ४५ करोड २ लाख बजेट छुट्याइएको छ । बजेटमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, पर्यटन,वन, कृषिलगायतका विकासलाई प्राथमिकतामा राखिएको छ।












