Logo
Logo
देशभर प्राकृतिक विपद्

३३ जिल्लाका ९९ ठाउँमा बाढीपहिरो, साेमबार यता ७ काे मृत्यु


दृष्टि संवाददाता

378
Shares

काठमाडाैं ।  मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरो आएको हो। 

बाढीका कारण सोमबारयता मृत्यु हुनेको संख्या ७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर ५ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा दुई, पाल्पा, कास्की, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।

विभिन्न जिल्लाबाट बुधबार प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ ।

वर्षासँगैको बाढीका कारण देशका विभिन्न ठाउँमा गरी १६५ वटा घरहरु डुवानमा परेका छन्। ५३ वटा निजी घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा बाढीले क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

बाढीका कारण ६२ वटा घरपरिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्