
काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड -१९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड–१९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन् । सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिने पनि जनाइएको छ ।
महानगरपालिकाले विद्युतीय सवारी करमा शतप्रतिशत छुट, महानगरबासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक नमुना विद्यालय कार्यक्रम, सम्पदा संरक्षणमा प्राथमिकता, नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना लगायतका कार्यक्रमहरु पनि ल्याएको छ ।











