Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सर्वोच्चलाई जवाफदेखि शेयरबजारमा उतारचढावसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६०७ जनामा संक्रमण पुष्टि, २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त, देशभर गरी थप ३९ जनाको मृत्यु, बाढी र पहिरोका कारण मात्र नभइ स्वास्थ्य समस्याको जोखिम समेत बढ्ने भन्दै सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपील ।

२. प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वोच्च अदालतलाई लिखित जवाफ, १८ बुँदे जवाफमा प्रधानमन्त्री ओलीद्वारा वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था नभएको र नरहेको जिकिर, राजनैतिक हिसावले कुनै परिणाम दिनै नसक्ने अवस्थाको प्रतिनिधिसभाको निरन्तरता निरर्थक भएको समेत दावी, अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने समेत तर्क, कसैको सिफारिश बिना राष्ट्रपति स्वयंबाट संविधानबमोजिम सम्पादन भएको कामकारवाही र निर्णय अदालतबाट बदर हुन नसक्ने र अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू भनी परमादेश जारी हुन नसक्ने राष्ट्रपति कार्यालयको जिकिर ।

३. बाढी, पहिरो र डुबानमा परेका पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलद्वारा संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग, प्राकृतिक विपत्तिको सामना गर्न सरकारको कुनै पूर्वतयारी नहुनु गैरजिम्मेवारीपन भएको गठबन्धनको ठहर ।

४. राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको सभामुख अग्नि सापकोटाको सर्वोच्च अदालतलाई जवाफ, प्रतिनिधिसभामा १४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको उल्लेख, प्रतिनिधिसभाका जम्मा ९३ सदस्यको समर्थन रहेको पछिल्लो प्रमाणित तथ्य भएको सभामुखको उल्लेख ।

५. दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थिति जनाउने, ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्ने, केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन, निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय ।

६. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको बोलाए भर्चुअल बैठक , नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको स्थायी कमिटी बैठक बोलाउने चर्चा चलिरहेको बेला समूहको रणनीति तय गर्न बैठक आह्वान, भलनाथ खनालले जारी गरेको विज्ञप्ति र उठेका जिज्ञासाको पनि बैठकले सम्बोधन गर्ने दावी ।

७. मुलुकका विभिन्न जिल्लामा अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी बुधबार रातिसम्म कम्तीमा ६ जनाको मृत्यु र २८ जना बेपत्ता, सिन्धुपाल्चोकमा २, बाजुरा, पाल्पा, कास्की र डोटीमा १/१ जनाको मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा १÷१ जना गरी बेपत्ता , विपद्मा परी ११ जना घाइते ।

८. साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजारमा तिव्र उतारचढाव देखिएको छ भने कारोबार रकममा भने उल्लेख्य गिरावट, ग्लोबल आइएमईको अवकास पाएका कर्मचारीका लागि खाता, निक्षेपमा उच्च प्रतिफल, कर्जामा सहुलियत, विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने, महामारी प्रतिकार्य र पुनरुत्थानमा खर्च हुने ।

९. युरो २०२० मा युक्रेनले पहिलो जित निकाल्दा मेसेडोनियाको लगातार दोस्रो हार, दोस्रो खेलमा बेल्जियम र डेनमार्क भिड्दै, मध्यरातमा नेदरल्याणड्सले अष्ट्रियाको सामना गर्ने, विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले लगाए कोरोना भाइरसविरूद्धको खोप ।

१०.र, कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध, भारतमा थप ६७ हजार संक्रमित, १ हजार ४ सय ११ संक्रमितको मृत्यु, हङकङमा प्रहरीले मार्‍यो प्रजातन्त्र पक्षधर पत्रिकाको कार्यालयमा छापा, प्रधानसम्पादकसहित पाँच जना नियन्त्रणमा, चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्