Logo
Logo
प्राकृतिक सम्पदाको दोहन

पहाडमा बाढी र पहिरो, तराईमा बस्ती डुबानको जोखिम


हिक्मत बम


धनगढी । प्राकृतिक सम्पदाको दोहन र उत्खनन्ले निम्त्याउने समस्या वर्षातको समयमा देखिएको छ । पछिल्लो केही वर्ष यतादेखि बाढी पहिरो र बस्ती डुबानका घटनाहरु बढ्दै गएका छन ।

विज्ञहरुका अनुसार प्राकृतिक सम्पदाको दोहन र उत्खनन्को प्रत्यक्ष असर मानव बस्तीमा परिरहेको छ । वनजंगलको विनास, नदिजन्य पदार्थको अवैधरुपमा उत्खनन् र दोहन गरिनाले त्यसको प्रत्यक्ष असर मानव जातीमा पर्दै गएको वातावरणविद्हरु बताउँछन ।

विद्का अनुसार मानव जातीले आफ्नो स्वार्थ पूर्तिका लागि प्राकृतिक सम्पदाको दोहन र उत्खनन् गर्नु आफैलाई असुरक्षित बनाउनु हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अवैधरुपले प्राकृतिक सम्पदाको दोहन गरि विकास निर्माणका कार्य धमाधम भइरहेका छन । जसको असर वर्षातको समयमा देखिएको छ ।

प्राकृतिक सम्पदाको दोहन र उत्खनन्ले दैविक र प्राकृति प्रकोप निम्त्याएको छ । वातावरणीय प्रभाव मुल्यांकननै नगरी गरिएको विकासको असर वर्षातको समयमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डडेल्धुरा बाढी र पहिरोको जोखिममा रहेका छन् भने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर बाढीसंगै बस्ती डुबानको जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सुदूरपश्चिममा आइतबारदेखि निरन्तर परिरहेको अविरल वर्षासंगै आएको बाढीले एक जनाको मृत्यु भएको छ भने एक जनाको पहिरोमा च्यापिएर मृत्यु भएको छ ।

त्यस्तै, खोलाले बगाएर एक जना वेपत्ता भएका छन् भने पहिरोमा च्यापिएर दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बाजुराको बुढीनन्दा नगरपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीय मोतीकला लुहारको खोलाले बगाएर मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा वेपत्ता भएका छन् ।

यता, डोटीमा पहिरोमा च्यापिएर केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको मृत्यु भएको छ भने पहिरोमा च्यापिएर बासुदेवीको झिगावस्तीका १३ वर्षीय पुनी कुँवर र १६ वर्षीय पुजा कुँवर घाइते भएका छन् । सुदूरपश्चिममा अझै केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विज्ञहरुले दैविक र प्राकृतिक प्रकोपका घटनालाई नियन्त्रण र रोकथाम गर्नका लागि प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

बाढी र पहिरोबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
यो वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ ।

गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा पाँच सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै चार सय बढीको ज्यान गएको थियो । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
सुदूरपश्चिममा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन । लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान स्थानीय प्रशासनले सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्