काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापाले राप्रपामा विद्रोह गरेकी हुन् ।
राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।
पार्टीको निर्णयबारे फेसबुकमा टिप्पणी गर्दै थापाले महिलालाई बहिष्कार गरेको बताएकी छन् । उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूहमात्र हो ? भन्दै प्रश्न गरेकी छन् ।
थापाले भनेकी छन्– कुन चाँही राप्रपा बैकल्पिक शक्ती बन्ने हो ? कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो ? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?
रेखाले महिलालाई बहिष्करण गरेको, मजदुर किसान र युवासँग डराएको तथा विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गरेको बताएकी छन् । उनले जनप्रि मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गरेको आरोप समेत लगाएकी छन् ।












