Logo
Logo

उपत्यकामा पुनः १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी


दृष्टि संवाददाता

21.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । । उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको प्रजिअ पराजुलीको भनाइ छ ।

निषेधाज्ञा तत्कालै हटाइहाल्न नमिल्ने तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने आफूहरुको योजना रहेको प्रजिअ पराजुलीले बताए । पछिल्लो समय निषेधाज्ञामा कडाई गर्ने भन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर आफूहरु लागिपरेको उनकाे भनाइ छ ।

उनका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । त्यसोत, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ ।

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।

गत बुधबारको सीसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनका अधिकारीहरुले छलफल गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्