Logo
Logo

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन


दृष्टि संवाददाता


काठमाडौं । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन गरिएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले थुनिएको रोङसी खोला अझै खुलेको छैन ।

झन्डै २४ घन्टादेखि थुनिएको नदीले रोङ्सी खोला क्षेत्रमा ठूलो ताल बनेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

अहिले उक्त ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली पहिरोस्थल पुगेर सो ताल खुलाउन प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार चिनियाँ टोलीले नेपाललाई असर नपर्ने गरी खण्ड–खण्ड बनाएर ताल खुलाउन प्रयास गरेको सूचना प्राप्त भएको छ । 

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । ‘ताल बनेको खोला फुटाउने काम सुरु भएको छ,’ घिमिरेले भने, ‘सम्भावना कतिको हुन्छ, अझै यसै भन्न सकिदैन ।’

गएरातिदेखि थुनिएको नदी नखुलेपछि तामाकोसी नदीआसपासमा बसोवास गर्ने स्थानीयहरूमा जोखिम कायमै रहेको घिमिरेले जानकारी दिए ।ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्