उघ्रँदैछ कम्युनिष्टको मुखण्डो « Drishti News – Nepalese News Portal
Logo

उघ्रँदैछ कम्युनिष्टको मुखण्डो


लक्ष्मण देवकाेटा


गण्डकी प्रदेशबाट शुरु भयो, यदुवंशीहरुको जमिनको भोगाइ । भाइ–भाइको लडाइँको नतिजा । अब यो आगो फैलिँदै जानेछ । अभेद्य किल्लामा अहंकारको नगरा बजेपछि आगो लाग्नु स्वाभाविकै थियो, लाग्न शुरु भएको छ ।

यो सबै हुनु कवि बालकृष्ण समले भनेजस्तै हठात् आएको आँधीहुरीको कुरा हुँदै होइन, यो त लामो श्रृंखलापछिको परिणति हो । जसलाई हामीले नियमित आकस्मिकता भन्न सक्छौँ । सबै जनताले थाहा पाए, गरिबहरुको मुक्तिका गाथा गाउनेहरुको असली नियत । नालापानीदेखि कालापानीसम्मको देशभक्तिभित्रको असली अनुहार, मानेभन्ज्याङ र सुस्ताका हिजोका दिनमा गाइने गरेका गीतहरु ।

जसले नेपालको कम्युनिष्ट आन्दोलनमा रगत बगायो, जीवनको संगीन समय दियो, परिवार गुमायो, सबथोक बिर्सेर पार्टीलाई नै परिवार मान्यो, उसलाई गलहत्याएर अपमानित गरेपछि हुने विद्रोहका नतिजाहरु यस्तै नै हुने हुन् । किनभने, विद्रोहको कुनै संगत लय हुँदैन ।

भ्रष्टाचार गर्नेहरुले निकै मधुर स्वरमा कुरा मिलाएर खानुपर्ने हुन्छ । नखाने मान्छे जसरी जंगिए पनि केही फरक पर्दैन । निर्लज्जतापूर्वक बहुमतीय सरकारका हाकिमहरु घमण्डको घडा फुट्दै गएर अहिले राजेन्द्र महतोको वैशाखी टेकेर उभिन अभिषप्त छन् ।

सत्तालाई सर्वश्व ठान्ने र त्यसका निम्ति जस्तोसुकै घिनलाग्दो सम्झौता गर्न पनि तयार रहने गुटले देशको राजनीतिमा मात्र होइन, ढुकुटीमा निर्लज्ज मनपरी गरेको हेर्न विवश छ यो समय ।

हिजोका दिनमा मृत्युको मुखमा पुगेर फर्केका दुखका साथीहरु आज वैरी भए, राजेन्द्र महतोहरु मित्र भए । को मित्र र को दुश्मन, हेरिनसक्नु र बुझिनसक्नुको खेला छ अहिले । नेपालका वामपन्थीहरुले देशभक्ति र वर्गीय रुपमा हेपिएकाहरुको पक्षमा बुलन्द आवाज उठाउँछन् ।

दलालहरुको फाइदाको निम्ति दिन रात खटिने कम्युनिष्ट नामधारी ओली गुट जतिदिन सरकारमा रहिरहन्छ, उति नेपालका वामपन्थीहरुको जनाधार खिइँदै जानेछ ।

उनीहरुलाई सत्तामा पुर्याउन सकियो भने गरिबका पनि दिन आउँछन् भन्ने भुइँमान्छे सपनाबाट झल्याँस्स ब्युँझिएका छन् । गरिब, मजदुर, किसानका कुरा गर्दागर्दैको ख्याउटे नेता सुन्निएर भुँडी हालेर बदलिएको छ, हेर्दाहेर्दै ।

प्रश्न उठ्न सक्छ, के वामपन्थीहरु सबै भोकै र नाँगै हुनुपर्छ । अहं कदापि हुनुपर्दैन । जरुर राम्रो जीवन बिताउनुपर्छ । नयाँ प्रविधि र विज्ञानसँग साक्षात हुनुपर्छ । तर, कुरा कति मात्र हो भने, नेताको उन्नति हुँदै गर्दा उसलाई नेता बनाएका कार्यकर्ता, जनताहरुको पनि जीवन फेरिनुपर्छ ।

जनता भनेका वामपन्थी कार्यकर्ता मात्रै होइनन्, वामपन्थी विचारसँग असहमत नागरिकहरु पनि हुन् । सरकार हुनु त यस्तो भनेर जसरी मनमोहन अधिकारीको नौ महिने शासनकाललाई सम्झिइएको थियो, त्यसैगरी नेकपाको दुईतिहाइ ओली सरकारलाई सम्झनुपर्ने हो । तर, दुर्भाग्य ओली जनताको सेवा गर्न छाडेर ‘खाबो चिथोर्न’ पुगे ।

आफू जित्नको लागि खेलका नियमहरु भत्काएर, बिगारेर आफूले जे गरे पनि मान्य हुनुपर्छ भन्ने कुविचार तानाशाही विचार हो । जनताको बहुदलीय जनवादको मूल मर्म सबै खालका विचारहरुको समान उपस्थिति र बहुमतीय लोकतान्त्रिक प्रकृयाबाट निर्णयमा पुग्ने, अनि निर्णय भएका कुराहरु इमान्दारीपूर्वक लागू गर्ने नै हो । नेताहरु सबै बराबर हुन् ।

जिम्मेवारीका दृष्टिले बराबरीका अगुवा मात्रै हुन् जिम्मेवार पदमा रहेका मानिसहरु । गुटगत अभ्यासले नेपालको लोकतान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको एमालेलाई खर्लप्पै दलालहरुको झुण्डमा पुर्याइदियो । फलतः यो भूसको आगो रडाकोमा परिणत भयो । प्रचण्ड र माधव नेपालले शुरुमा राखेका मागहरुलाई बेवास्ता गर्दै पार्टीको कमिटीगत अभ्यासबाट भाग्नु ओलीको सबैभन्दा ठूलो गल्ती हो ।

यो गल्ती इतिहासमा लेखिनेछ । ओलीले पार्टीको कमिटीगत अभ्यासलाई नमान्दा कम्युनिष्ट पार्टीको सिंगो शक्ति क्षयीकरण भएर विनाशको ओरालोमा कुँदिरहेको छ ।

यसो भन्दैमा माधव नेपाल र प्रचण्डहरु पूर्णतः ठीक ओली मात्र बेठिक भन्नु होइन । तर, पार्टी भित्रको स्वस्थ बहसलाई तिकडमबाट निस्तेज गर्न खोज्ने, सरकारी ढुकुटीबाट कमरेड मदनको नाम भजाएर गुटगत गतिविधि गरेर वडासम्मै आफ्नो गुट बनाउन ओली गुट पहिल्यैदेखि सक्रिय थियो ।

नेपाल कम्युनिष्ट पार्टी छँदै कम्तीमा केन्द्रीय कमिटी र स्थायी कमिटी जस्ता पार्टीका संरचनागत कमिटीहरुमा विधि, पद्धतिका दृष्टिले बहस चलाएको भए आजको यो हविगत हुने थिएन । खड्गप्रसादले भारतीय गुप्तचरहरुसँग के कुरा गरेका रहेछन् र उनको साँठगाँठ कतिसम्मको योजनावद्ध रहेछ भन्ने कुरा महतोहरुको सत्तारोहण, ओलीका हरेक कदमहरुबाटै प्रष्ट भएका छन् ।

शीतलनिवासले आँखा चिम्लेर ओलीका हरेक निरंकुश कदमहरुलाई साथ दिइरहँदा उनमा झन् सत्ता उन्माद बढिरहेको छ । अहिले जमीनका जनता, पार्टीलाई यो अवस्थासम्म ल्याइपुर्याउने तमाम कार्यकर्ताहरु कसैको चित्र पनि ओलीको आँखा अगाडि छैनन् ।

उनी केवल जुन हर्कत गरेर भएपनि सत्तामा टिकिरहने र राज्यको ढुकुटीको चरम दोहन गरेर फेरि पनि आफ्नो गुटलाई चुनावमा विजयी गराउने रणनीतिमा साथ लागिरहेकाछन् । सबैखाले मूल्य चुकाएर भए पनि सत्तामा टिकिरहने रणनीति प्रदेशहरुमा पनि जारी गरिएको छ । तर, षडयन्त्रका तानाबानाहरु च्यातिने क्रममा छन् । गण्डकीबाट ओलीको दिनगन्ति शुरु भएको छ ।

अदालतले जेठ २ पछिका पार्टीगत निर्णयहरु समेत अवैध घोषणा गरिसकेको अवस्थामा ओलीका भित्रियाहरु त्यसको अनर्थ लगाएर बसिरहेकाछन् । यस्तो लाग्दछ कि उनीहरु मुखमा एमाले सिंगो राख्न खोजेजस्तो देखाइरहने तर भित्रैबाट कुनै पनि हालतमा माधव नेपाल समूहलाई बहिष्कृत नै गरेर जाने रणनीतिमा छन् ।

माधव नेपालहरुको फिर्ती भयो भने भारतीय डिजाइन अनुसार ओलीको भावी योजनामा धक्का पुग्दछ । कामचलाउ चुनावी सरकारले ल्याउनै नमिल्ने बजेटमा चुरे विनाशको निम्ति भारतलाई रिझाउन लिखित रुपमै प्रकृतिको दोहनको मार्ग खुला गरेर ओली सरकारले सत्ता टिकाउने षडयन्त्र गरेको छ । काँग्रेसी र एमालेका ओली समूहहरु मिलेर महाकाली बेचेकै हुन् ।

काँग्रेसीहरुले पहिले नै नदीनाला भारतलाई सुम्पेर सत्ता टिकाएकै हुन् । हुँदाहुँदा भारतमा प्रतिबन्ध लगाइएको प्रकृति दोहनको कामलाई नेपालमा खुला गरेर हाम्रा प्राकृतिक सम्पदाहरुलाई कौडीको भाउमा बेच्ने बदमासी काम कम्युनिष्ट भनिएको ओली सरकारबाट हुनु राष्टघाती काम नै हो ।

यसको सशक्त प्रतिवाद र निन्दा हुनुपर्दछ । यही हिसाबले मिल्ने र सक्ने भए यिनीहरुले एमसीसी पास गरेर अमेरिकी सेनाको परेड पनि खेलाउन सक्छन् । ओली गुटलाई त्यसैको हतारो छ ।

कमरेड पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीहरुको त्याग समर्पण र नेतृत्वमा लामो समय लगाएर निर्माण गरिएको कम्युनिष्ट पार्टीले अहिले भारतीय सँस्थापनसँग गुप्त साँठगाँठ गरेर सत्ता टिकाउन सिंगो देशकै प्राकृतिक सम्पदा सुम्पन तयार हुने स्थिति आउनु कम्युनिष्ट अधोपतनको उदाहरण नभए अरु के हुन्छ ?

धनीहरु महँगा अस्पतालमा गएर बाँच्ने, गरिबहरु अस्पतालको ढोकासमेत पुग्न नपाइ मर्नुपर्ने नियति हो भने त्यस्तो गुट, त्यस्तो नेतृत्व, त्यस्तो झूण्ड यो देशलाई किन चाहिन्छ ? तन्नेरीहरुलाई खाडीमा पठाउने, पढेलेखेकाहरु अमेरिका, अष्टेलिया भासिने, अनि वृद्धभत्ता बढाएर मात्र देशको उन्नति कसरी हुन्छ ? लाखौंै युवा खाडीमा छन् । अप्ठेरो परेको बेला सबैभन्दा पहिला अक्सिजनको सिलिण्डर पठाउने तिनै भए ।

ओलीलाई राम्रोसँग थाहा छ, ती युवा फर्किए भने ओलीहरुको शासन सत्ता डगमगाउने छ । त्यसैले उनीहरु कुनै पनि हालतमा बाहिर बसेका युवालाई मतदान प्रकृयामा ल्याउन चाहन्नन् । अब हुने यात्रा वामपन्थीहरुको निम्ति फलामको च्यूरा चपाए झैं हुनेछ । ओली नेतृत्वको सरकारले गरेका तमाम राष्ट्रघाती कामहरुको जवाफ कम्युनिष्टहरुले दिनुपर्ने दिन आउँदैछ ।

जब जवाफ हुनेछैन, जनताबाट अस्वीकृत हुने खतरा उत्तिकै हुनेछ । दलालहरुको फाइदाको निम्ति दिन रात खटिने कम्युनिष्ट नामधारी ओली गुट जतिदिन सरकारमा रहिरहन्छ, उति नेपालका वामपन्थीहरुको जनाधार खिइँदै जानेछ । यौटा व्यक्तिको घमण्डको शिकार सिंगो आन्दोलननै हुने खतरा उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्