Logo
Logo

घाइते बालिकाको ५ दिनपछि हेलिकप्टरमार्फत उद्दार


नन्दा थापा


प्रतिकात्मक तस्वीर

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिका–१ मा भीरबाट लडेर घाइते भएकी १६ वर्षीया बालिका ललिता गिरीको पाँच दिनपछि हेलिकप्टर मार्फत उद्दार गरि काठमाडाैँ लगिएको छ ।

प्रतिकुल मौसमका कारणले पाँच दिन पछि मात्र किशोरीको थप उपचारका लागि काठमाडौ उद्दार भएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन् ।

शनिबार मनाङ एयरको हेलिकप्टर कोल्टी एरपोटमा पुगेपनि प्रतिकुल मौसम र पानी पर्न नरोकिएका कारणले हेलिकप्टर उड्न सकेको थिएन । आइतबार बिहान मात्र मौसममा सुधार आएपछि मनाङ एयरको हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशले बालिकालाई उद्दारको लागि हेलिकप्टर पठाएको मन्त्री पूर्णा जोशीले बताएकी छन् । उद्दारको सबै रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तिर्ने जोशीको भनाई छ ।

गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए । उनको चार दिन सम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कोल्टीमा उपचार सम्भव नभएकोे भन्दै ललितालाई थप उपचारका लागि काठमाडौ लग्न प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको थियो । ललितालाई कोल्टीमा अक्सिजनको सहायतामा उपचार भइरहेको थियो ।

शुक्रवार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्दारका लागि पुुगेको भएपनि कोल्टी भने जान सकेको थिएन् । मार्तडीबाट उडेर पनि पोरखे लेखमा कुहिरोका कारणले कोल्टी जान नसकेर फिर्ता भएको हो । शनिबार भने मनाङ्ग एयरलाइन्सको हेलिकप्टर कोल्टी पुगेपनि हेलिकप्टर उडान नसकी आईतबार मात्र उडेको हो ।

प्रतिक्रिया दिनुहोस्