काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका छन् ।
समाजमा सबैभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिका रूपमा उनले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउने साहस गरेको भन्दै उनलाई न्यायप्रेमी सबैले साथ दिनुपर्ने डा। भट्टराईको भनाइ छ।
डा भट्टराईले बुधबार सामाजिक सञ्जालमा लखेका छन्, ‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ, तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं ’
यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।












