Logo
Logo

खोप नलगाएका कामदार खाडी जान नपाउने


दृष्टि संवाददाता

378
Shares


काठमाडौं । सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिक जान नपाउने भएका हुन् ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ । सातामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुईरदुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार यूएईले उडानमा रोक लगाउँदा मात्रै ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् ।

असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । ‘हामी त चार्टर उडान भएपछि पठाउन पाउँछौं होला भनेर अन्तिम श्रम स्वीकृति पाएका कामदारलाई काठमाडौं बोलाएका थियौं । टिकट कन्फर्म गर्ने कोसिसमा थियौं, चार्टरमा जान नै पाएन,’ श्रेष्ठले भने, ‘अब त खोप लगाइसकेकालाई मात्रै आउन पाउने खालको नीति लिएको छ ।’

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने

आउन पाउने सूचना जारी गरेको छ । कुवेतले कोभिडबाट उच्च र कम जोखिममा रहेको देशको सूचीलाई हटाउँदै कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको हो ।

कुवेतको १७, १८, २० र २२ नम्बर भिसा पाएर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । नवीकरण गरी उनीहरू साउन १७ देखि कुवेत जान पाउनेछन् । त्यसका लागि कुवेतले अनुमोदन गरेको खोप भने लगाइसक्नुपर्नेछ ।

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । यसबारे अझै स्पष्ट हुन जरुरी छ । हामीले नेपालको यथार्थ जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने, ‘हामीसँग एक महिनाको समय छ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्