Logo
Logo

चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा ‘ड्रागन म्यान’


दृष्टि संवाददाता

6.9k
Shares

वासिङटन । चीनमा मानव जातिकै सबैभन्दा नजिकका पुर्खा ‘ड्रागन म्यान’को जीवाश्मा भेटिएको छ । उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका हुन् ।

‘ड्रागन म्यान’ समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियमु’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो । ‘हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्’, लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले भने ।

स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । ‘हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।’

यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए । उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

‘यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ’, अनुसन्धाता स्ट्रिंगरले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्