Logo
Logo

अर्थमन्त्रीले शुभारम्भ गरेको सडक अलपत्र


दामोदर खनाल

8k
Shares

बुटवल । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक छ लेन बनाउने काम ठेकेदारको लापर्वाहीले रोकिएको छ । पाँच महिना अगाडि वर्तमान गृह तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण शुभारम्भ गरेका थिए । तर, त्यसदिनदेखि सडक विस्तारकाे कुनै पनि काम भएकाे छैन ।

शुभारम्भ कार्यक्रममा निर्माणको ठेक्का पाएक कन्चनजंगा विरुवा जेभिले समयमै काम सक्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसदिनयता कुनै काम नगरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, व्यापारीक मार्ग विस्तार आयोजना, बेलहिया बुटवल सडकका योजना प्रमुख जयलाल मरासीनीले स्पष्टिकरण साेधेका छन् । म्यादभित्रै निर्माण कार्य सम्पन्न नभए कारवाहीको अर्को विकल्प नभएको स्पष्टिकरणपत्रमा उल्लेख छ ।

लामो समय विवादित यो सडक निर्माणको लागि सर्वाेच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रसस्त गरेपछि सरकारले २०७९ असार मासन्तसम्म म्याद थप गरेकाे छ । २०७७ माघ १४ गते मन्त्री पौडेलले याे सडक विस्तारको शुभारम्म गरेका थिए ।

विगतमा घर-टहरा नहटेकोले सडक विस्तारकाे काम हुन सेकेकाे थिएन । हाल घर-टहरा हटाएर ठेकेदारलाई पटकपटक मौखिक ताकेदा गर्दापनि काम नगरेपछि कार्यलयले पत्राचार गर्नुपरेको सडक कार्यालयका योजना प्रमुख जयलाल मरासीनीले जानकारी दिए । अब पनि समयमै काम सकिने गरी ततकाल काम नथाले ठेक्का भंगसम्म गर्ने उनले जनकारी दिए ।

सडक विस्तारकाे लागि लकडाउनमै डोजर समेत प्रयोगगरी सडक किनारका घर-टहरा हटाएपनि ठेकेदारकाे लापर्वाहीका कारण निर्माण कार्य अलपत्र भएकाे हाे । घर-टहरा भत्काउने काम गतवर्ष केही समय रोकिए पनि अदालतको आदेशपछि पुन: सुरु गरिएकाे थियाे ।

यो सडक निर्माणका लागि कन्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिव ३ किलोमिटर लामो यो सडकको लागत करिव ६० करोड रहेको बताइन्छ । तीन वर्ष अघि उक्त सडक चार लेनकाे बनाइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्