Logo
Logo

मेलम्ची खानेपानी आयोजना मर्मत गर्नै मुस्किल


दृष्टि संवाददाता


काठमाडाैं । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पुर्याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच÷छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए । क्षति भएकामध्ये दुई क्रंक्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई÷तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए ।

कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए । विभिन्न स्थानमा सडक पूरै भासिएको छ ।

त्यस्तो ठाउँमा पनि पहिलेको रेखाङ्कनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले जनाएको छ । पहिलेको सडक बगेको भए पनि त्यसको विकल्प खोज्दा लामो समय लाग्न सक्छ ।

पहिले सडकको ट्रयाक खोल्दा मुआब्जा र क्षतिपूर्तिसहित काम भएको थियो । अहिले नयाँ रेखाङ्कनको विकल्प खोज्दा स्थानीयवासीले सहयोग नगर्ने भएकाले त्यही रेखाङ्कनमा अस्थायी भएपनि सडक लैजान सकिन्छ कि भन्ने हेरिएको समितिले जनाएको छ ।

यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो । आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न शुरु गरेको थियो । सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।

आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्