Logo
Logo

सरकारी किताबमै पुरानो नक्सा


दृष्टि संवाददाता


कक्षा ५ र ९ का सामाजिक अध्ययन पुस्तकमा पुरानै नक्सा ।


काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो ।

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले समयमा निर्देशन नदिँदा जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिकलगायत विषयको पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको स्रोतले जनाएको छ ।

पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिले अनुगमनमा सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नयाँ नक्सा नरहेको पाइएको जनाएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भने असार १ गते शैक्षिक सत्र सुरु हुँदै गर्दा पुरानो नक्सा छापेर बिक्रीवितरण गरे कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए ।

‘कुनै पुस्तकमा नयाँ, कुनैमा पुरानो नक्सा राखेर बिक्रीवितरण भइरहेको छ । एउटै पुस्तकको पनि कभरमा नयाँ र भित्र पुरानो नक्सा राखिएको पाइयो,’ समितिले गरेको अनुगमनमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘पाठ्यपुस्तकमा पनि संवेदनशील भएको पाइएन, अनियमितता र मनपरी भेटियो ।’ उनले विद्यार्थीको हातमा नयाँ नक्सा भएकै पुस्तक पुर्‍याउनुपर्नेमा जोड दिए ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा काठमाडौं उपत्यकाका पुस्तक पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा २०७८ सालमै छापिएका पाठ्यपुस्तकमा पनि पुरानो नक्सा राखेको पाइएको हो । लाखौं पाठ्यपुस्तक विभिन्न जिल्लामा पुगिसकेकाले यो शैक्षिक सत्रमा नयाँ नक्सा राख्न सम्भव नहुने जनक शिक्षाका एक अधिकारीले बताए ।

नयाँ नक्सा राखिएका पाठ्यपुस्तकमा नेपालको कुल क्षेत्रफल भने उल्लेख छैन । सरकारले नै आधिकारिक क्षेत्रफल सार्वजनिक नगरेकाले पाठ्यपुस्तकमा उल्लेख गर्न नसकिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले जनाए । नयाँ नक्सा तर क्षेत्रफल कति भनेर विद्यार्थी अलमलमा पर्ने गरेको शिक्षकहरू गुनासो गर्छन् ।

रंगीन पाठ्यपुस्तकमा नेपालको झन्डा, लालीगुराँस, डाँफेलगायत राष्ट्रिय चिह्नहरू ‘ब्ल्याक एन्ड ह्वाइट’ (श्यामश्वेत) मा छपाइ गरेर बिक्रीवितरण भइरहेको छ । ‘किताब ४ रङमा छापिएको छ तर राष्ट्रिय चिह्नहरू रंगीन छैनन्,’ अभिभावक महासंघका अध्यक्ष भण्डारीले भने, ‘यस्तो लापरबाही पनि गरिएको भेटियो, यसले त विद्यार्थीलाई अलमल्याउँछ ।’ सरकारले कक्षा ९ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई रंगीन पाठ्यपुस्तक निःशुल्क वितरण गर्छ । निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकमा समेत राष्ट्रिय चिह्नहरू श्यामश्वेतमा राखिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्