Logo
Logo

श्रीमान–श्रीमतीकै धन्दा प्रतिबन्धित औषधीको कालाेबजारी


दृष्टि संवाददाता


विराटनगर । सुनसरीको एकजना दम्पती नै औषधी व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधीको कारोबारमा संलग्न रहेको पाइएको छ ।

उनीहरुले भारतदेखि तस्करी गरि सुनसरीलाई आधार क्षेत्र बनाएर प्रदेश १ को विभिन्न पूर्वी शहरहरूमा प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको खुलेको हो ।

सुनसरी प्रहरीले प्रतिबन्धित औषधीको कारोवार गरेको आरोपमा धरान–९ की ३० वर्षीय आस्मा खातुनलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधीको कारोवार चलाउने गरेको खुलेको छ ।

उनीहरूले कोठा भोडामा लिएर विभागमा दर्ता नभएका औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्तालाई चर्को मुल्यमा बिक्री वितरण गर्ने गरेको औषधी व्यवस्था विभागले गरेको प्राराम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो । खातुनका श्रीमान यसअघि अवैध लागूऔषध बिक्री वितरण गरेको आरोपमा अहिले सुनसरी प्रहरी हिरासतमा रहेका छन् । उनी यसअघि पनि प्रतिबन्धित औषधीको कारोबार गरेपछि अदालतबाट धरौटीमा छुटेका प्रतिवादी हुन् ।

अदालतमा धरौटी बुझाएर छुटेपछि पनि उनीहरूले पुरानो अवैध धन्दालाई निरन्तरा दिदै आएका थिए । शनिबार खातुनलाई लागूऔषध प्रयोगकर्तालाई प्रतिबन्धित औषधी बिक्री वितरण गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरानको पुरानो बजारमा रहेको खातुनको कोठादेखि ठूलो परिमाणमा स्पाजमो प्रोएक्सभोन प्लस बरामद गरेको छ । जुन औषधी विभागमा दर्ता छैन ।

अवैध धन्दामा लागेको गिरोहले सो औषधी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले जानकारी दिए । खातुनको कोठामा लुकाई राखेको ३०६ पत्ता (२४४८ क्यापसुल) सो औषधी प्रहरीले फेला पारेको छ ।

प्रहरीले सुरूमा लागूऔषध प्रयोगकर्ता धरान २ का ३५ वर्षिय मुन्नाप्रसाद मण्डललाई प्रतिबन्धित औषधसहित पक्राउ गरेको थियो । उनले दिएको बयानको आधारमा खातुनले प्रतिबन्धित औषधी विक्री गरेको खुलेको थियो । प्रतिबिन्धत औषधीको कारोबार गर्ने खातुनले ६ पत्ता स्पाजमो प्रोएक्सभोन प्लस ४ हजार ५ सयमा बिक्री गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । भारतदेखि ल्याएको प्रतिबन्धित औषधी सप्तरी हुँदै उनीहरुले धरान ल्याउने गरेको खुलेको छ ।

इप्रका धरानले खातुनलाई पक्राउ गरेपछि थप कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरलाई बुझाएको थियो । यसअघि पनि प्रतिबन्धित औषधीको कारोबारमा खातुन पक्राउ परिसकेको कारणले विभागले ‘पटके’ बनाएर अदालतमा अभियोग बुझाउने तयारी गरेको छ । विभागले आइतबार खातुनविरूद्ध अदालतमा १० दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्