Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । सोमबार बिहान प्रमुख पाँच विद्यार्थी संगठनबीच बसेको बैठकले संसद विघटनविरुद्ध उपत्यकालगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, र अखिल (छैठौँ)ले संसदविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको हो ।

असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय गरेकाे विद्यार्थी संगठनले जनाएका छन् । बैठकले संसद विघटनविरुद्ध सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।

महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि, जातीय विभेदको मुद्दामा मन्त्रीको कार्यशैली, महामारीमा सरकरले गरेको बेवास्ता जस्तै विषय पनि उनीहरुले उठाएका छन् ।

त्यस्तै बैंठकले विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न उपकुलपतिसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउने भएको छ ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

विज्ञप्तिमा मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्