Logo
Logo

‘साना सवारीसाधनका मजदुरले खानु पर्दैन ?’


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । मंगलबारदेखि २५ सिट क्षमताभन्दा माथिका सवारी साधनहरु सञ्चालन गर्न पाउने नियमप्रति यातायात व्यवसायीहरुले आपत्ति जनाएका छन् । सरकारले ठूला सवारी साधनलाई मात्र चल्न दिएर साना यातायात व्यवसायीलाई भोक भोकै मार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

ठूला सवारी साधन खुलाउने तर, साना सवारीलाई भने अंकुश लगाएर के हामीलाई भोक भोकै मार्न खोजेको हो भन्दै स्वतन्त्र यातायात मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले प्रश्न गरे ।

उनले भने, ‘सार्वजनिक सवारी खोल्ने भए सबै सार्वजनिक सवारी खोल्नुपर्छ, स्वास्थ्य मापदण्ड अनुकूल । तर, ठुला सवारीसाधन मात्रै चल्न दिएर सरकारले के गर्न खोजेको ? साना सवारीसाधनका मजदुरले खानुपर्दैन ? हामी र हाम्रो परिवार भोक भोकै मर्ने ? यसरी कति समय चल्छ ? पक्षपाति गर्न पाइदैन ।’

उनले सरकारले बनाएको यो निर्णय अव्यवहारिक भएको भन्दै सच्याउन माग गरे । उनका अनुसार साना र ठूला दुवै सार्वजनिक यातायातलाई स्वास्थ्यमापदण्डअनुकूल मिलाएर चल्न दिए भीडभाड पनि कम हुने र सबैलाई सहज पनि हुन्छ ।

यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सरकारले कुनै अध्ययन र अनुसन्धानविनै यस्तो खालको पक्षपाती निर्णय गरेको बताए ।

उनले मजाक जस्तो निर्णय गरेर साना व्यवसायीलाई बाँच्न नदिएको बताएका छन् । उनले भने, ‘सरकारको नजरमा ठूला व्यवसायी मात्र सर्वेसर्वा र सानाचाहिँ केही होइनन् ? हामीचाहिँ बाँच्न पाउनुपर्दैन ? मजाकको निर्णय गरेर हामीलाई बाँच्न नदिने ।’ सरकारले ल्याएको उक्त नीति तत्काल संशोधन गरेर साना तथा ठूला सार्वजनिक सवारी चल्न दिइनुपर्ने उनको माग छ ।

मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्याल प्रमुखबीच भएको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गर्दै यस अवधिमा जोर बिजोर प्रणालीमा २५ सिट क्षमता माथिका सार्वजनिक सवारी भने चल्ने दिने निर्णय भएको थियो । २५ सिट क्षमताभन्दा कम रहेका सार्वजनिक सवारीमा भने रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्