Logo
Logo

चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने चार जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौंमा गाडी ल्याई नक्कली सवारी दर्ता किताव लगाएतका कागजातहरु तयारी गरि कारोवार हुने गरेको बिशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाले जनाएकाे छ ।

पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् । पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होला ग्राम, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको महाशाखाले जनाएकाे छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्