Logo
Logo

चीनको सयवर्षे उत्सवले सिंगो विश्व तरंगित


दृष्टि संवाददाता


काठमाडौं । एकदलीय राजनीतिक प्रणाली अँगालेको चीनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीका अवसरमा ‘शक्ति, प्रगति र विचार’ मा देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ । बेइजिङस्थित तियाननमेन स्क्वायरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘आफू मात्रै असल भनेर अरूलाई उपदेश दिने’ लाई नसहने भन्दै नरम भाषामा अमेरिका, भारतसहितका बाहिरी शक्तिराष्ट्रलाई संकेतमा दह्रो प्रहार गरेका छन् ।

शतवार्षिकी समारोहलाई करिब एक घण्टा सम्बोधन गरेका राष्ट्रपति सीले आफ्नो देशलाई धम्क्याउने वा नकारात्मक प्रभावमा पार्ने प्रयास गरे तिनको टाउकामा प्रहार गर्ने चेतावनी दिए । चीनलाई कसैबाट हेपिन र दबिन नदिने उनको उद्घोष थियो । उनले खासगरी ताइवानको मुद्दालाई संकेत गर्दै राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न चिनियाँ जनता सक्षम रहेको समेत उल्लेख गरे । ‘समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुन सक्छ,’ उनले भने ।

चीनका लागि पूर्वराजदूत महेश मास्केले केही शक्तिराष्ट्रले अलग अर्थ र आक्षेप लगाए पनि चिनियाँहरू आफ्नो देशको विशिष्ट अवस्थाले सिर्जना गरेको आर्थिक, लोकतान्त्रिक र राजनीतिक मार्गमा बढ्न उत्सुक छन् भन्ने कूटनीतिक सन्देश बिहीबारको उत्सवले विश्व समुदायलाई दिएको प्रतिक्रिया दिए । ‘पुँजीवाद र पश्चिमेली लोकतन्त्रको कुनै विकल्प छैन, त्यसैले इतिहासको अन्त्य भयो भन्ने अमेरिकी समाजशास्त्री फुकुयामाहरूलाई इतिहासको अन्त्य हुँदैन र यी दुवैको विकल्प छ भन्ने गतिलो जवाफ चीनले दिएजस्तो लाग्छ,’ उनले भने ।

कम्युनिस्ट विचारक एवं चीन मामिलाका जानकार मिलन तुलाधर चिनियाँ कम्युनिस्ट पार्टीले बितेको एक शताब्दीमा तय गर्न सकेको विचारधारा र हिँडेको मार्ग भनेकै ‘पद्धतिगत कुरा’ रहेको बताउँछन् । ‘हामीकहाँ भने सिको गर्ने काम मात्रै भयो । कम्युनिस्टका नाममा कुनै योजना र रणनीतिबेगरै कहिले जनयुद्ध गर्ने, कहिले माओवादको प्रवक्ता बन्नेसम्मको काम भयो,’ उनले भने, ‘तर पद्धति बनाउन र बसाल्नतिर हाम्रा कम्युनिस्ट नेताहरू कहिल्यै लागेनन् ।’ कम्युनिस्ट सिद्धान्तमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पार्टी निर्माणका लागि ‘व्यक्तिगत स्वार्थ त्याग गर्नुपर्ने’ भनिए पनि नेपाली कम्युनिस्ट आन्दोलनका हकमा त्यही व्यक्तिगत स्वार्थले सधैं स्थान पाएको उनको मूल्यांकन छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्