Logo
Logo

सर्वाेच्चमा पाँच न्यायधीश नियुक्तिको तयारी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ चैत ।
सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको छ। परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षमा सोमबार पहिलो बैठक बसेको हो ।


सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको बारेमा परिषदले छलफल गरिरहेको छ। सर्वोच्चको टुङ्गो लागेलगत्तै उच्च अदालत र जिल्ला न्यायाधीशको छलफल सुरु हुने समितिका एक सदस्यले बताए।

सर्वोच्च अदालतमा ५ न्यायाधीश रिक्त रहेको छन्। रिक्त पदमा योग्यता पुगेका उच्च अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट कुन संख्यामा ल्याउने विषय किनारा लागेपछि नाममा छलफल हुने ती सदस्यले बताए।

परिषदमा प्रधानन्यायाधीश राणा अध्यक्ष रहेका छन्। वरिष्ठ सदस्यमा दीपककुमार कार्की र अन्य सदस्यहरूमा कानुनमन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका छन्। सिटौला कांग्रेस र वैदिक तत्कालीन माओवादी कोटाबाट परिषद सदस्य भएका थिए।

परिषद स्रोतका अनुसार ३ जना कानुन व्यवसायीबाट र दुई जना मुख्य न्यायाधीशबाट न्यायाधीश सर्वोच्च भित्राउने विषयमा छलफल भइरहेको छ।
न्यायधीश नियुक्तिमा पनि भागबन्डा हुने देखिएको छ । नेकपाबाट दुई र नेपाली काँग्रेसको कोटामा एक जना सिफारिसमा पर्ने सम्भावना रहेको छ।

नेकपाबाट परिषदका सदस्य वैदिकसमेतको नाम चर्चामा रहेको छ। उनीपछि हरि फुयाँल, विजयकान्त मैनाली , दिनमणी पोखरेलको नाम चर्चामा रहेको छ। कांग्रेसका तर्फबाट डेमोक्राटिक लयर्स एशोसियनका पूर्वअध्यक्ष मध्येबाट एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ।

उच्च अदालतको मुख्य न्यायाधीशमध्येबाट प्रकाश ढुङ्गाना, शुष्मालता माथेमा र कुमार चुडालमध्येबाट छानिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्