Logo
Logo

क्यानाडा पठाइदिन्छु भन्दै १ करोड ५० लाख ठगी गर्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । क्यानाडा पठाइदिन्छु भन्दै ठुलो रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।

अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ । उनले हालसम्म १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

अधिकारीहरू थप अनुसन्धानका लागि महानगरीय परिसर काठमाडौँ पठाएको छ । प्रहरीले अधिकारीबाट ठगिएका अन्य पीडितहरू भए महाशाखामा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्