Logo
Logo

कांग्रेसद्वारा अध्यादेश अस्वीकारका लागि सूचना पेश


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ ।

कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), आर्थिक, विनियोजन, रेल्वे अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश सम्बन्धमा अस्वीकारका लागि सूचना पेश गरेको हो ।

राष्ट्रिय सभाको बिहिबारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न १६ अध्यादेश पेश गरेको थियो । सो पार्टीले अध्यादेशहरु संविधानको मर्म र भावना विपरीत, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत, संसदीय मान्यता र भावना विपरीत रहेका, संसद् छलेर ल्याइएका, असमसामयिक एवं असान्दर्भिक रहेका, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत कामकारवाही रोकेको विषयका भएकाले हुने भन्दै अस्वीकारका लागि सूचना पेश गरेको जनाएको छ ।

साथै कर निर्धारणलगायत आर्थिकसम्बन्धी विषय र विनियोजनसम्बन्धी विषय जनप्रतिनिधिको थलो संसद्मा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याइएको अध्यादेश भएकाले तथा कतिपय विधेयकहरु संसद्मा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको कांग्रसको तर्क छ । सांसदहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र खिमलाल देबकोटाले आज सङ्घीय संसद् सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्