बँदेलले मकै सखाप, किसान चिन्तित « Drishti News – Nepalese News Portal
Logo

बँदेलले मकै सखाप, किसान चिन्तित


दृष्टि संवाददाता


दैलेख । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा नं १ मा पर्ने महतारा गाउँ, जडाह घर बस्ती, गोग्न, देउताडा र जलजले महाबु गाउँपालिका–२ मापर्ने ताराचौर, घोगेपाटा, किमुखाडा, डुउग्री र पिपलपाटा, दुल्लु नगरपालिका–१० मापर्ने बिजौरा, नाबिस्थान, मेहेल्पानी र नारायण नगरपालिका–१ मा पर्ने पिडाल्ने, कुइकाना र धुल्पुर र २ मा पर्ने गैरामाल्ली, कुसांडा, पाथिकाल्ला, अयाकाटिया, बागमारे, किमेनी, सुपितारा र तल्लो जारकोटलगायतका दर्जनभन्दा बढी बस्तीमा बादेलको समूह पसेर लगाइएको मकैबाली तहसनहस पारेको छ ।

बस्ती नजिकैको जङ्गलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताए । दिनभरि जङ्गलमा बस्ने र रातपरेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उनको भनाइ छ ।

वर्षेनि बँदेलले बालीन नोक्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । उनले भने, ‘बँदेलकै कारण अब बस्ती नै छाडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जजना भएको छ ।’

कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी— १ का गगन योगीले बताउनुभयो । बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उनको भनाइ छ ।

पीडित किसानको क्षतिको विवरणको लगत सङ्कलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्