Logo
Logo

खेतबारी खहरे बन्ने चिन्ताले ग्रसित छन् मोहन्यालका बासिन्दा


- दृष्टि न्युज/संवाददाता


वीरेन्द्र रावल, कैलाली ।
पश्चिमबाट बादेखोला, दक्षिणपश्चिमबाट कारवाखोला अनि पूर्वीउत्तरबाट कर्णाली नदीको बाढीले हरेक बर्ष उर्वरा भूमि कटानी हुन थालेपछि चिन्ताले ग्रसित बदै गएका छन्– मोहन्याल ७ बढीगाउँ र फर्साथाईका बासिन्दाहरु ।

वर्षामा नदी र खोलामा उल्र्लेर आउने बाढीका कारण खेतीयोग्य जमिन कटानी गर्दै बाढीनै गाउँभित्र प्रवेश गरेपछि यसपालिको वर्षाले पुरै गाउँनै डुबाउने पो त होइन भन्ने चिन्तामा छन् फर्साथाईका बासिन्दा ।
पश्चिमबाट बग्ने बादेखोला र काररवाखोलाको बाढीले खेतीयोग्य जमिन कटानी गर्न थालेपछि सो गाउँको खेतीयोग्य जमिननै उच्च जोखिममा पुगेको बताउँछन् मोहन्याल–७ फर्साथाईका प्रेम देउवा ।
देउवाले भने— बादेखोलाको बाडीले आफ्नो ५ कठ्ठा जति खेतनै बाढीले बगाएपछि बाँकी जमिनको बीचबाट खोला पसेपछि यसपालिको वर्षाले त पुरै जमिन खहरेमा परिणत गरिदिने पो हो कि भन्ने चिन्ताले सताएको छ ।
खेतीपाती गरेर जीविकोपार्जन गर्दै घरपरिवारको जोहो चलाउँदै आएका देउवा भन्छन्– नदी कटानको समस्यालाई तत्काल समाधान गर्नेतर्फ सरकारले पहल गर्नेहोईन भने फर्साथाई पुरै गाउँका २० घरपरिवारहरु जोखिममा पर्ने देखिन्छ ।
गत वर्ष बर्षाका समयमा बादेखोलाले खेती कटानी गरेपछि प्रहरी मुचुल्का बनाएर वडाकार्यालयलाई निवेदन दिँदासम्म पनि बादेखोलामा बलियो तटबन्ध गर्नेतर्फ कसैले पनि ध्यान नदीएका कारण यस बर्ष बाढीको उच्च जोखिम आउन सक्ने खतरा रहेको बताउँछन्– देउवा ।
यस्तै वडा नम्बर ७ कै कारवा खोलाका कारणपनि हालसम्म १ सय बिघा जमिन खहेरमा परिणत भइसकेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ । कारवाखोलाका कारण आफ्नो एक हल गोरु लाग्ने खेतनै बगाएर खहरेमा परिणत भइसकेको दुःखेसो पोख्छन् कारवाका खैरे माकुने ।
माकुनेले गुनासो पोख्दै भने– के गर्ने हजुर हामीजस्ता गरिबहरुको समस्या कसले बुझिदिने ? देशमा लोकतन्त्र आएको छ भन्छन्– लोकतन्त्र कुन चरीको नाम हो त्योसम्म थाहानै छैन ।
उहाँले गुनासो पोख्दै भने– हाम्रा खेतबारी बग्दा अनि उठिबास लाग्दा राज्यलाई दुख्दैन । तटबन्ध गरिदिनुप¥यो भनेर नेताहरुलाई पटकपटक आग्रहसमेत गरियो कसैले पनि सुनुवार्ई गरेका छैनन् । हरेक बर्ष वर्षातको समयमा कारवाखोलमा आउने बाढीका कारण बढीगाउँको ठूलो भूभाग खेतीयोग्य जमिन खहरेमा परिणत बन्दै जान थालेकाले सो क्षेत्रको तत्काल तटबन्ध गर्नुपर्ने माग गर्छन्– मोहन्याल ७ का ध्वजबहादुर रावल ।
उनले भने– बाढीको चपेटामा रहेको बढीगाउँ, कारवा, बादेखोल र फर्साथाई गाउँलाई जोगाउन र स्थानीय बासिन्दालाई सुरक्षित बनाउनका लागि पनि तत्काल तटबन्धको व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय एवं संघीय सरकारले पहल गर्नुपर्ने देखिन्छ ।
हरेक वर्ष वर्षाको समयमा आउने बाढीका कारण मोहन्याल गाउँपालिकाको बढीगाउँ, कारवा, कुइनेलगायतका गाउँहरु बढी जोखिममा पर्नुका साथ साथै नदी कटानको समस्यामा पर्ने गरेका कारण तत्काल कर्णाली, बादेखोला, कारवाखोला र साँगुरेखोलाबाट हुने कटानलाई रोक्नेतर्फ पहल गर्नुपर्ने स्थानीय जनताको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्