Logo
Logo
संसद् विघटन प्रकरण

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख पक्षका अधिवक्ताहरुको बहस


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । आज प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन ब्यवसायीहरुले बहस गर्दैछन् ।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदक पक्षको जवाफी बहस गर्ने तयारी रहेको छ ।

गत असार ९ गते शुरू भएको सुनुवाइका क्रममा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताहरुले १४ घन्टा बहस गरिसकेका छन् ।

सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन) का तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टाको समय दिइएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने भएका छन । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ । नयाँ सरकार बन्ने विकल्प हुँदा हुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्