Logo
Logo

शिक्षामन्त्रीविरुद्ध रुपा सुनारले दर्ता गरिन् सर्वोच्चमा रिट


दृष्टि संवाददाता


काठमाडाैं । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । उनले जातकै कारण कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेकी हुन् ।

उनले कोठा भाडामा लिने/दिने माैखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन् ।

यसैगरी शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्