Logo
Logo

सडक खन्दा दुई गाउँ भासिए, १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र


दृष्टि संवाददाता


सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली गाउँपालिका–५ को क्युडी गाउँ । तस्बिर सौजन्यः कान्तिपुरबाट

बझाङ । गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् ।

उनीहरूले गाउँभन्दा एक घण्टा परको जोरगाउँ जंगलमा आश्रय लिएका छन् । ‘कोही भैंसीको खर्कमा ओत लागेका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन् । नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् । हामी जंगलमा छौं,’ वडा सदस्यसमेत रहेका पीडित वीरबहादुर बुढाले भने, ‘चिसो भुइँमा सुत्नुपरेकाले धेरै जना बिरामी हुन थालेका छन् ।’ बस्ती रहेको ठाउँको तल सडक र माथि दुवैतिरबाट निरन्तर पहिरो खस्न थालेपछि घर छाडेका सबैलाई खाद्यान्न र खानेपानीको पनि समस्या भएको उनले बताए ।

ओतको अभावमा रातभर आगो बालेर बस्ने गरेको, भोक मेटाउन जंगली सागपात, सिस्नु र कन्दमूल खाएर बस्नुपरेको स्थानीय ज्ञानी बुढाले बताए । ‘भोकै बस्न नसकेर सिन्नु कन्जडा ९सिस्नु आदि कन्दमूल० खाएर बसिरहेका छौं । हामी ठूलो विपत्तिमा परेका छौं,’ उनले भने । खोलाको धमिलो पानीले प्यास मेटाउनुपरेको छ । पहिरोका कारण जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको विस्थापित परिवारकी मनसरी बुढाले बताइन् । ‘खाने गाँस छैन । बालबच्चा भोकभोकै छन् । खुला ठाउँमा बस्नुपर्दा सबैभन्दा बढी हामी महिलालाई समस्या भएको छ,’ उनले भनिन् । ३ सय ५० महिला र बालबालिकासहित ६ सय जना विस्थापित भएका हुन् ।

गाउँभन्दा तल निर्माण गरिएको सडकका कारण घरहरू भासिएको देखिएको छ । ‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि फर्केका गाउँपालिकाका रोजगार संयोजक बिर्ख पाण्डेले भने, ‘गाउँ नै चिराचिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका छन् । कसैका घर बाँगाटिँगा भएका छन् ।’ जमिन भासिएर कमजोर भएपछि गाउँको बीचभाग भएर बग्ने खहरे खोलाले पनि कटान गरेकाले झन् बढी क्षति भएको उनले बताए । ‘ठूलो वर्षा भयो भने एकै पटक गाउँ नै बगाउने अवस्था छ,’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भर्खर निर्माण हुँदै गरेको रुगिन–बिच्छिया पहुँचमार्गका कारण गाउँमा पहिरो खसेको पाण्डेले बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्