Logo

नयाँ कोल्डवार(शीत युद्ध)को शुरुवात वर्ष २०१८


Published On : 3 January, 2019

पुरानो वर्ष सन् २०१८, अमेरिका र चीनका विच नयाँ शीत युद्ध शुरुवातको वर्षको रुपमा इतिहासमा अंकित हुन पुगेकोछ । 

पहिलो शीत युद्ध अमेरिका र सोभियत संघका विच भएको थियो । शीत युद्ध भनेको प्रत्यक्ष रुपमा युद्ध नलडि अप्रत्यक्ष रुपमा विविध तरिकावाट एक अर्का विरुद्ध लडिने युद्ध हो । पहिलो शीत युद्ध दोश्रो विश्वयुद्धको समापन लगत्तै अमेरिका र सोभियत संघका विच शुरु भएको थियो र सन् १९९१ मा सोभियत संघको विघटन पछि समाप्त भएको थियो । 

पहिलो शीत युद्धको समयमा यी दुई शक्तिशाली देशहरुको नेतृत्वमा विश्व दुई ध्रुवमा विभाजित भएको थियो र यी दुई अतिमहाशक्तिका विच विविध प्रकारले अप्रत्यक्ष युद्ध चलिरह्यो । सो समयमा असंलग्न देशहरुको समुहले पनि जन्म लियो । तर विश्व मुख्य रुपमा यी दुई शक्तिशाली देशहरुका विचको अप्रत्यक्ष द्वन्द्वको प्रभावमा रह्यो । क्षेत्रीय रुपमा भएका प्रत्यक्ष युद्धहरुमा यी दुई देशहरुले विपरित पक्षलाई फौजी तथा अन्य सहयोग गरिरह्यो । 

अब फेरि दोश्रो शीत युद्धको शुरुवात भएकोछ भन्नेमा विश्वका राजनैतिक र वौद्धिक क्षेत्र क्रमश सहमत हुँदै गैरहेका छन् । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका विरुद्ध व्यापार यु्द्धको घोषणा गरेपछि यो दोश्रो शीतयुद्ध शुरु भएको देखिएको छ । 

चीन अमेरिका विच एक ले अर्को पक्षका सामानहरु आयात गर्दा लाग्ने भंसार शुल्कमा चर्को वृद्धि गरेपछि यो व्यापार युद्ध घोषित रुपमा सुरु भयो । तर यो परिघटना केवल व्यापारको क्षेत्रमा मात्र सीमित रहेको छैन । यस व्यापार युद्ध नयाँ शीत युद्धको वृहत डिजाइन अन्तर्गतको एक पक्ष मात्र देखा परेकोछ ।

अमेरिकाले आफ्नो परम्परागत विश्व प्रभुत्व र एक नम्वरको हैसियत कायम राख्न चाहन्छ । चीन भने उदाउँदो शक्ति देखिएको छ र आफ्नो शक्ति अनुसारको हैसियत प्राप्त गर्न तथा आफ्नो विकास क्रमको रफ्तार अनुसारको राजनैतिक र अन्य भूमिका पनि विश्वमा खोज्ने पक्षमा देखिन्छ । चीन आफ्नो विकासको गति अझ वढाउन चाहन्छ र यसका लागि अनेक उपायको खोजीमा रहेकोछ । 

चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै कायम रहन सकेपनि आगामी सन् २०३० देखि २०५० को विचमा कुल गार्हस्थ उत्पादनको हिसावले दोश्रो रहेको चीनले पहिलो रहेको अमेरिकालाई उछिन्ने भविश्यवाणि सबै जसो अर्थशास्त्रीहरुले स्वीकार गरिसकेका छन् । 

चीनले आफ्नो नेतृत्वमा एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट वैंक स्थापना गरको छ जसलाई अमेरिकाको नेतृत्वमा रहेको विश्व वैक र एशियाली विकास वैंकको प्रतिस्पर्धीका रुपमा हेरिएकोछ । 

चीनले अति महत्वाकांक्षी वेल्ट एण्ड रोड योजना शुरु गरेकोछ जसलाई अमेरिकाले चीनको प्रभुत्व वढाउने योजनाको रुपमा हेरेकोछ । 

मेड इन चाइना अक्षर भएका वस्तुहरु विश्वमा नपुगेको देश र शहर रहेको छैन । त्यतिले नपुगेर चीनले मेड इन चाइना २०२५ योजना वनाएको छ जसमा चीनले अब आधुनिक प्रविधिको क्षेत्रमा पनि अमेरिका संग प्रतिस्पर्धा गर्न सक्ने खालका वस्तुहरु उत्पादन गर्ने योजना वनाएको छ । यसले अमेरिका र विकसित देशहरुको नियन्त्रणमा रहेको उच्च प्रविधिहरुको प्रतिस्पर्धी प्रविधिहरु र उच्च गुणस्तरका वस्तुहरुमा पनि चीनको पहँुच हुनेछ । त्यस्ता उच्च प्रविधिका वस्तुहरु चीनमा उत्पादन गर्ने उसकोृ योजना छ । यसवाट पनि अमेरिका आफ्नो एकाधिकार गुम्ने डरले त्रसित देखिन्छ । 

अहिले चीनलाई उच्च प्रविधि हस्तान्तरण कुनैपनि विकसित देशले नगरोस् भन्ने अमेरिकी शीत युद्धको एक प्रमुख रणनीति रहेकोछ । 

चीनको वेल्ट एण्ड रोड योजनाको विकल्पमा अमेरिकाले नयाँ योजना वनाउन लागेको वताइन्छ । 

चीनको पक्षमा नढल्कोस भनेर नेपाल जस्तो सानो देशलाई पनि विसौं वर्ष पछि अमेरिका वोलाएर परराष्ट्रमन्त्री स्तरमा गहन वार्ता गरेको छ । 

यसपालीको एपेक सम्मेलनमा चीन र अमेरिकी प्रतिस्पर्धाले गर्दा पहिलो पल्ट संयुक्त घोषणापत्र समेत पनि जारी नगरी टुंगीयो । 

लेनिनले आफ्नो सुप्रसिद्ध रचना “साम्राज्यवाद—पूँजीवादको उच्चतम चरण” मा पूँजीवादले विकास गर्ने क्रममा पूँजीपतिहरु विच संघर्ष र एकता दुबै हुने वताएका थिए । पूँजीवादको असमान विकासको नियम तथा आपसी तीब्र प्रतिस्पर्धाका कारण कहिले कुन शक्ति माथि आउन र  कहिले कुन शक्ति तल जाने भैरहने लेनिनले विश्लेषण गरेका थिए । पूँजीवादी देशहरुका विच विभिन्न तरिकावाट युद्धहरु भैरहने लेनिनको निश्कर्ष थियो । त्यो अहिले पनि सत्य सावित भैरहेकोछ । 

चीनमा माओको निधन पछि पूँजीवादी वाटो अपनाइयो र पूँजीवादी तरिकावाट विकासको गति वढाइयो । चीनको पूँजीवादी विकास मोडेलले गर्दा अमेरिका र चीनका विच नयाँ शीत युद्ध हुनु अनिवार्य थियो । त्यो अहिले २०१८ मा शुरु भएको छ । 

पहिला सोभियत संघ र अमेरिका विच शीत युद्ध चल्दा अमेरिकाले लोकतन्त्र र सोभियत सघले साम्यवादको राजनैतिक नारा उचालेको थियो । तर यस दोश्रो शीत युद्धमा चीनले साम्यवादको नारा त्यो वेला सोभियत संघले जस्तै उचालेको देखिन्न । पहिलो र दोश्रो शीतयुद्धमा यहि मुख्य फरक रहने देखिन्छ । 

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्