Logo
Logo

ललिता निवास जग्गा प्रकरणः बस्न्यातले वारेस राखेर मुद्दा लड्न पाउने


दृष्टि संवाददाता


काठमाडौं । विशेष अदालत काठमाडौंले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको छ ।

न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुको इजलासले बस्न्यातले कसैलाई वारेस राखेर मुद्दा लड्ने अनुमति दिने मंगलबार आदेश गरेको हो ।

अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा बस्न्यातले आफ्नो एकजना प्रतिनिधि राखेर मुद्दा लड्न पाउनेछन् । विशेष अदालतले ललिता निवास जग्गा काण्डमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आफू बिरामी भएको र थुनामा राख्नु गलत भएको भन्दै त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता दिएका थिए ।निवेदनअनुसार गत वैशाख २५ मा सर्वोच्चले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश बेरीतको देखिएको भन्दै धरौटीमा छोड्न आदेश गरेको थियो ।

बस्न्यातलाई मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो । थुनामै रहँदा अस्वस्थ रहेका र पछिल्लो समय कोरोना संक्रमण भएको भन्दै उनको पक्षबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको थियो ।

विशेषले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये धरौटीमा छुट्ने आदेश पाउने बस्न्यात दोस्रो व्यक्ति हुन् । बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा तत्कालीन तीन मन्त्री, तीन सचिव, जग्गाधनी, जग्गा बकस लिने १८ जना र कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्