Logo
Logo

चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपालका कम्युनिष्टले के सिक्ने?


लक्ष्मण देवकोटा


सोभियत संघको पतनपछि पूर्वी युरोपमा धमाधम ढलिरहेका थिए लेनिनका शालिकहरु । संसारैबाट कम्युनिष्ट विचारधारा सकियो भनेर पूँजीवादी मुलुकहरुमा हर्षोत्सव चलिरहेको थियो । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका लागि अब सोभियत किल्ला ढलिसकेको थियो ।

पश्चिमी साम्राज्यका आँखा अरबका तेल खानीहरुमा थिए । उनीहरुको मुख्य शत्रुको सुइ विस्तारै चीनतिर ढल्किइसकेको थियो । समयको यो लामो अन्तरालपछि अमेरिकी अर्थतन्त्रलाई सोझै चुनौती दिने शक्ति चीन बनेको छ । हरतरहले चीनलाई ध्वंश गर्न सके विश्वसाम्राज्यको अधिपति भइरहने अमेरिकी आकांक्षा नेपालमा पनि झल्किएको छ ।

चिनियाँहरु कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको खुशीयाली मनाइरहेको दृश्य विश्वले हेरिरहेको थियो । माओत्सेतुङको नेतृत्वमा भएको जनक्रान्तिपछि आजसम्म चीनले अर्थव्यवस्थामा जुन फड्को मारेको छ, त्यो संसारकै लागि लोभलाग्दो विषय हो । प्रजातन्त्र र मानवअधिकारको कुरा गरेर नथाक्ने अमेरिकीहरुकै हाराहारीमा विज्ञान र प्रविधिमा चिनियाँहरुले तरक्की गरेर आफ्नो कौशलताको प्रदर्शन गरिरहेका छन् ।

आज पश्चिमका व्यापारिक कम्पनीहरु, ठूला लगानीकर्ताहरु चीनमा ओइरिएका छन् । चिनियाँ उत्पादनहरु नपुगेको संसारकै कुनै कुनो नहोला । त्यतिमात्र होइन, व्यापारिक मार्गको रुपमा अघि बढेको चिनियाँ अवधारणाको बेल्ट रोडले संसारैभरि चिनियाँ साम्राज्य फैलाउन ठूलो मद्दत पुग्नेछ ।

चिनियाँ कम्युनिष्टहरुको कुरा गर्दा जसरी माओत्सेतुङको नेतृत्वमा भएको जनक्रान्तिको सम्झना हुने गर्दछ, उसैगरी खुला अर्थतन्त्रमा प्रवेश गर्ने देङ सियाओ पिङको नीतिको प्रशंसा हुने गर्दछ । खासगरी जनक्रान्ति सकिएर देशको सर्वोच्च नेताको स्थानमा माओलाई राखियो, त्यस समयमा भएको सांस्कृतिक क्रान्ति नामको वितण्डा जारी रहिरहेको भए चीनका कम्युनिष्टहरुको आजको स्थिति के हुन्थ्यो ? भन्न सकिँदैन ।

अरुलाई अनुशासनको पाठ सिकाउने स्वयं अनुशासित हुनुपर्दछ । चिनियाँहरुको नेतृत्वमा रहेको पारदर्शीता पार्टीको एकता मजबुत बनाइरहने कडी हो ।

माओको निधनपछि चिनियाँ कम्युनिष्ट पार्टीले लिखितरुपमै सांस्कृतिक क्रान्ति गर्नु गलत निर्णय भएको स्वीकारेको थियो । आफूले गरेका गल्तीहरु सच्याएर जनतासँग जानु कम्युनिष्ट पार्टीको सही निर्णय थियो ।

चिनियाँ जनताहरुले भोकमरी, गरिबीको दयनीय अवस्थाबाट विस्तारै विकासको यात्रामा अघि बढिरहेका छन् । चारैतिर चौडा बाटाहरु, अस्पताल र स्कूलहरु खुलिरहेका छन् । जनताको आयआर्जन बढेको छ । तीव्र शहरीकरणसँगै रोजगारीका अनगिन्ती सम्भावनाहरु बढिरहेका छन् ।

शिक्षा र स्वास्थ्यमा सामान्य मानिसहरुको पनि पहुँच गराउन चिनियाँ कम्युनिष्ट पार्टीले निरन्तर काम गरिरहेको छ । पार्टी लेनिनको केन्द्रीय लोकतान्त्रिक पद्धतिको अवधारणाअनुसार सञ्चालित छ । सांस्कृतिक क्रान्तिका दौरान भत्काइएका सांस्कृतिक धरोहरहरु पुनःनिर्माण देशैभरि चलिरहेको छ । धार्मिक स्वतन्त्रतालाई राज्यले स्वीकार गरेको देखिन्छ ।

शिक्षा, स्वास्थ्य र सुरक्षाको बन्दोबस्त राज्यले राम्रोसँग गर्यो भने केन्द्रीकृत व्यवस्थालाई पनि मानिसहरुले मन पराउने रहेछन् भन्ने चीनका ग्रामीण भेगहरुमा गएर हेर्न र बुझ्न सकिन्छ । दण्डहीनताले प्रश्रय पाएको समाजमा जतिसुकै लोकतन्त्रका कुरा गरे पनि वर्गीय विभेद भने यथावतै रहँदोरहेछ भन्ने उत्तर प्रदेशको एकसरो भ्रमण गरेपछि थाहा पाउन सकिन्छ । धेरै टाढा जानै पर्दैन ।

चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु इमान्दार भएर आफ्नो काममा खटिएका छन् । त्यहाँ रामराज्य छ भन्न खोजिएको होइन, नेतृत्व चाहे त्यो ग्रामीण तहको होस्, ऊ आफ्नो जिम्मेवारीप्रति इमान्दार छ । शिक्षकले सरकारी स्कूलमा इमान्दारीपूर्वक पढाइरहेका छन् । डाक्टरहरु अस्पतालमा सेवा गरिरहेका छन् । निजी र सरकारीको भेदभाव छैन ।

दुईपटक चीनको ग्रामीण क्षेत्रको सुक्ष्म अध्ययन गर्ने मौका पाएको नाताले यो लेखकले यत्ति मात्रै भन्न सक्दछ, उनीहरु इमान्दारीपूर्वक आफ्नो जिम्मामा आएको काम गरिरहेका छन् । जनताका दैनिकीसँग जोडिएका विषयहरुमा राज्यको सोझै नियन्त्रण देखिन्छ ।

सबैमा मिहिनेत गरेर खानुपर्छ भन्ने आम भावना र देशप्रतिको प्रेम गहिरो गरी भरिएको छ । विभिन्न जातजाति र भाषाभाषीमा बाँडिएको त्यत्रो जनसंख्यालाई सम्हालेर राख्नु कम्ती चुनौतीको काम होला र ? एउटा सिंगो पुस्ताको बलिदानी र नेतृत्वको कुशलताबाटै अहिलेको नयाँ पुस्ता गरिबी, भोकमरीबाट माथि उठेर विश्वकै सबैभन्दा धनी पुस्ता बनेका छन् ।

चीनको कम्युनिष्ट पार्टीभित्रको फलामे अनुशासन नै सो पार्टीलाई टिकाइराख्ने प्रमुख आधार हो । विधि, विधानअनुसार पार्टी सञ्चालन गर्ने र तल्लो तहका गाउँ कमिटीहरुबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्ने कुरामा चिनियाँहरुले गरिरहेको अभ्यास कमजोर हुँदो हो त पार्टीभित्र नै विद्रोहको अवस्था सिर्जना हुने थियो ।

लेनिनवादी संगठनात्मक पद्धतिलाई मान्ने हो भने अनुशासनप्रति कठोर हुनै पर्दछ । भ्रष्टाचारी ठहर हुनेबित्तिकै पोलिटब्युरो सदस्य नै किन नहोस्, ऊ दण्डित हुन्छ भन्ने कुराको उदाहरण संघाइको नगरप्रमुखमाथिको कारवाही हो । अहिले पनि २२ लाखमाथि भ्रष्टाचारको छानबिन भइरहेको छ ।

वार्षिक लाखौं दण्डित भएका छन् । यहीँनेर कम्युनिष्टहरुले बुझ्नुपर्ने के छ भन्देखिन्, अरुलाई अनुशासनको पाठ सिकाउने व्यक्ति पहिला स्वयं अनुशासित हुनुपर्दछ । चिनियाँहरुको नेतृत्वमा रहेको पारदर्शीता पार्टीको एकता मजबुत बनाइरहने अर्को कडी हो ।

चिनियाँ क्रान्तिको एकसरो अध्ययन गरिसकेपछि नेपालको सन्दर्भमा यति भन्न सकिन्छ कि कमरेड मदन भण्डारीले निशस्त्र आन्दोलनमार्फत नै सत्तामा पुग्ने जोखिमपूर्ण यात्राको अवधारणा ल्याएका थिए । जसलाई ‘जनताको बहुदलीय जनवाद’ भन्ने नाम दिइएको थियो ।

दश वर्षे सशस्त्र क्रान्तिको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कालान्तरमा मदन भण्डारीकै बाटोमा आइपुगेकै हुन् । तर, दुर्भाग्य के भने जनताको बहुदलीय जनवाद र मदन भण्डारीको विचारलाई अहिले पूर्णत अपव्याख्या गर्ने काम भइरहेको छ । स्वयं पार्टी अध्यक्ष केपी ओली र राष्ट्रपति पदमा आसिन विद्या भण्डारीहरुको समूहले स्वयं मदन भण्डारीको विचारको उल्टो बाटो हिँड्ने अभ्यास गरिरहेका छन् ।

कालान्तरमा यो प्रयास असफल हुने नै छ । यसरी नेपाली कम्युनिष्ट आन्दोलनको विनाशबाहेक केही पनि देखिँदैन । संसदीय अभ्यासमा शिथिल भएका नेपालका कम्युनिष्टहरुको अबको बाटोको विषयमा विस्तृत बहस हुन जरुरी छ । चिनियाँ क्रान्तिको सय वर्षको अवसरमा नेपालका कम्युनिष्टहरुले सैद्धान्तिक अवधारणा र भविष्यको निम्ति आम बहस भएन भने यो स्थान अर्को शक्तिले यो स्थान लिनेछ ।

खड्गप्रसाद ओली नेतृत्वको वर्तमान मण्डलीबाट यो सम्भव छैन । ओली मण्डलीको अवशानपछि मदन भण्डारीले शुरुवात गरेको बहसलाई पुनव्र्याख्या गर्दै जबजसँगै नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु सच्चा कम्युनिष्टहरुको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्