Logo
Logo

पहिराले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध


दृष्टि संवाददाता

189
Shares

गलेश्वर । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् ।

गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ ।

त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ ।

सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ । स्मरणीय छ गए राति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्